एकनाल भरुवा बन्दुकसहित वराहक्षेत्र २ स्थित आठ–आर.डी. बाट एक युवा पक्राउ परेका छन् । 

बिहीबार अपरान्ह ३ बजेको समयमा शसस्त्र प्रहरी बल सुरक्षा बेस चतराले भरुवा बन्दुकसहित बेलका नगरपालिका वडा नं ९ बस्ने २२ वर्षीय सुमन राईलाई पक्राउ गरेको शसस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले जानकारी दिए । 

कोशी नदीस्थित खयरघारीबाट ती युवा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु वन्यजन्तु चोरी शिकारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पाँच जनाको समूहमा रहेका अन्य शिकारी भने भागेको निरीक्षक राईले बताए ।

बन्दुक पड्किएको आवाज पछ्याउँदै जाने क्रममा शिकारीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

सशस्त्र प्रहरीको ११ जना र चतरा सब डिभिजन वन कार्यालयको ३ जनाको सामुहिक गस्तीले चोरी शिकारी गर्दै हिंडेका युवालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकालाई आजै नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्रले जानकारी दिएको छ ।