सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहास्थित शारदा आधारभूत विद्यालयमा रिक्त रहेको एकजना करारका दृष्टिविहीन शिक्षक पदपूर्ति गर्न लिएको परीक्षा स्वच्छ र मर्यादित हुन नसकेको ठहर गर्दै दुहबी नगरपालिकाले विज्ञापन अनुमति र परीक्षा रद्द गरेको छ ।
दुहबी नगरपालिकाको नगरप्रमुख स्तरीय निर्णयले १५ फागुनमा रिक्त रहेको पदपूर्ति गर्न लिएको परीक्षा मर्यादित र स्वच्छ नभएको ठहर गर्दै नगरपालिकाले परीक्षा रद्द गर्ने बिहीबार निर्णय गरेको हो ।
दुहबी नगरपालिका प्रमुख बेदनारयण गच्छदारको दबावमा प्रावि तहको कारारको एकजना शिक्षक पदपूर्तिका लागि लिएको परीक्षामा परीक्षार्थीको नक्कली सहयोगी राखेर पदपूर्ति गराउन चलखेल सुरु भएको ब्लाष्टले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि २५ फागुनमा नगरपालिकामा बसेको बैठकले तोकिएको मितिमा दोस्रो चरणको परीक्षा सञ्चालन हुन नसकेपछि परीक्षा रद्द गरेको सूचना नगरपालिकाले जारी गरेको छ ।
नगरपालिकाले परीक्षा रद्द गर्ने निर्णय गरे पनि रिक्त रहेको शिक्षकको पदपूर्तिका लागि विज्ञापन कहिले विद्यालयलाई आह्वान गर्न अनुमति दिने त्यो भने खुलाएको छैन । जसले गर्दा रिक्त रहेको शिक्षक पदपूर्ति नहुँदा पठन–पाठनमा समस्या हुने गरेको विद्यालयले जनाएको छ ।
यस्तो छ परीक्षा रद्द हुनुको कारण
शारदा आधारभूत विद्यालयले रिक्त रहेको राहत करारको एकजना दृष्टिविहीन शिक्षक पदपूर्ति गराउन पुस २९ गते सूचना प्रकाशित गरेको थियो । फागुन १५ गते स्कुलले लिएको पहिलो चरणको वस्तुगतर्फको परीक्षामा ७ जनाले परीक्षा दिए । जसमा दिनेश मण्डल, आशा सुब्बा, सूर्यमाया लिम्बू, मायावती राजवंशी, रञ्जित महतो, धीरेन्द्रकुमार विक र श्रवण महतो रहेका थिए । उनीहरू सबैले १–१ जना सहयोगी राखेका थिए ।
पहिलो चरणको परीक्षा दिएका ७ जनामध्ये दिनेश, मायावती र श्रवण तीनजना उत्तीर्ण भए । उत्तीर्ण भएका उनीहरूमध्ये दिनेशले राखेको सहयोगी विद्यालयले स्वीकृत दिएको नभएर नक्कली ‘राइटर’ भएको खुलेको थियो । दिनेशले राखेको सहयोगी विराटनगरस्थित सिर्जना ज्ञानकुञ्ज माविमा कक्षा १२ मा अध्ययनरत गरेको खुलेको छ ।
उक्त विद्यालयले दिनेशको सहयोगी रूपमा कक्षा ११ मा पढ्दै गरेका रामचन्द्र मण्डल राख्न सिफारिस गरेको थियो । तर, दिनेशले कक्षा १२ अध्ययन गर्दै गरेका रविन यादवमा राखेको पाइएको थियो । पहिलो चरणको परीक्षा उत्तीर्ण गरेपछि दोस्रो चरणको १०० सय पूर्णाङ्कको फाइनल परीक्षा २४ फागुनमा हुने तोकिएको थियो ।
फाइनल परीक्षामा नक्कली सहयोगी राखेर उत्तीर्ण गराएको परीक्षार्थीलाई पनि सामेल गराउने नगरपालिकाले चलखेल गरेपछि दोस्रो चरणको फाइनल परीक्षा २४ फागुनमा हुन सकेन । शिक्षक नियुक्तिको विवाद भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि नगर प्रमुखस्तरीय बैठकले परीक्षा रद्द गरेको हो ।
रिक्त रहेको करारको शिक्षक पदपूर्तिका लागि लिएको परीक्षा निष्पक्ष र मर्यादित नभएको पाइएपछि नगर प्रमुख स्तरीय निर्णयले परीक्षा र विज्ञापन रद्द गरिएको दुहबी नगरपालिका शिक्षा महाशाखा प्रमुख निलमणि खनालले बताए । ‘तत्कालको लागि परीक्षा र विज्ञापन रद्द गरिएको छ’ उनले भने, ‘अब नयाँ विज्ञापन आह्वान भएपछि फेरि सुरुदेखि प्रक्रिया अगाडि बढ्नेछ ।’