ताप्लेजुङ । ताप्लेजुङमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिको परिवारका सदस्यलाई पीडित परिचय–पत्र वितरण सुरु भएको छ । उजुरीउपर छानबिन गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले शुक्रबारदेखि परिचय–पत्र वितरण सुरु गरेको हो ।

बेपत्ता व्यक्तिका आफन्त परिवारको यकिन गरी परिचय–पत्र वितरणका लागि आयोगका अध्यक्ष युवराज सुवेदी, सचिव कृष्णजीवी घिमिरेसहितको टोली ताप्लेजुङ आएको छ । जिल्लाबाट बेपत्ता पारिएको भनी आयोगमा २६ वटा उजुरी परेका थिए ।

तीमध्ये ६ वटाको लगत कट्टा भएको र एउटा उजुरी तामेलीमा राखिएको आयोगका सदस्य विश्वप्रकाश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अर्को एउटा विस्तृत अनुसन्धानका क्रममा रहेको छ ।

बाँकी रहेका उजुरीउपर छानबिन गरी आवश्यक कागजात लिएर परिचय–पत्र बाँड्न थालिएको बताइएको छ । यसअघि शुक्रबार नै आयोगले जिल्लास्थित सरोकारवालाबीच अन्तरक्रिया गर्दै आवश्यक सुझाव माग गरेको थियो । 

बेपत्ता व्यक्तिको खोजी साथै पीडित परिवारको समस्या समाधानका लागि आयोगका कामलाई प्रभावकारी बनाउन पीडित पक्ष र सरोकारवालाबाट सल्लाह तथा सुझाव लिएको हो ।

यस क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले लामो समय भइसक्दा  पनि बेपत्ताको अवस्था पत्ता लाग्न नसकेको र पीडित परिवारका समस्या समाधानमा समेत राज्यले पर्याप्त काम गर्न नसकेको गुनासो गरेका थिए ।

आयोगका अध्यक्ष सुवेदीले बेपत्ता व्यक्तिको खोजी साथै पीडित परिवारको समस्या समाधानमा सबै सरोकारवाला सङ्घ–संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

आयोगका कतिपय कामलाई अघि बढाउन नीतिगत रूपमा भएका जटिलतालाई समेत सरकारले निराकरण गर्नु आवश्यक भएको उनले बताए ।