प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) चतराले स्वास्थ्य सेवा विस्तार गर्दै फिजियोथेरापी र थाईराईड परीक्षण ल्याब सञ्चालन गरेको छ । केन्द्रले आइतबारबाट उक्त सेवा शुरु गरेको हो ।

सेवा शुरु गर्न केन्द्रलाई न्यु संगिता मेडिकल हलले ५ लाख मूल्य पर्ने फिजियोथेरापी स्वास्थ्य उपकरण र ६ थान सेवाग्राही प्रतिक्षालय कुर्सी सहयोग उपलब्ध गराएको छ । वडा नं. १ ले  २ लाख रुपैंया बराबरको ११ थान बिरामी बेडलगायतको सामग्री प्रदान गरेको केन्द्रका व्यवस्थापक प्रमुख डाक्टर अनिल गिरीले बताए ।

केन्द्रको सभाहलमा आयोजित ‘नयाँ सेवा उदघाटन, स्वास्थ्य उपकरण हस्तान्तरण तथा सम्मान कार्यक्रम’ को उद्घाटन, विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले रगत परीक्षण गरी गरेका थिए ।

पोखरेलले, सहयोगदाता न्यु संगिता मेडिकल हलका सञ्चालक सुरेन्द्र गुप्ता र वडा नं १ का सचिव लक्ष्मण पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनले कर्मचारीद्वय सूचना अधिकारी योगेन्द्र कट्टेल र कार्यालय सहयोगी पुजन विकलाई  कोरोनामा उत्कृष्ट सेवा दिएकोमा नगद ५ हजार रुपैंया र सम्मान पत्रले कदर गरे । 

कार्यक्रममा नेपाल ज्योति संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ र इटहरी आँखा अस्पतालकी डाक्टर अङ्किता शर्मा र सेवा फाउन्डेसन नेपाल नामक संस्थालाई पनि सम्मान गरिएको थियो ।

चाडै नै आँखा र मेडिसिन सेवा पनि शुरु गरिने डा. गिरीले जानकारी दिए । उनले नेत्र ज्योति संघसँग अन्तिम चरणको छलफलमा रहेको बताए । स्वास्थ्य केन्द्रले हाल हार्डजोर्नी, स्त्री तथा प्रसुति र २४ घण्टा आकस्मिक सेवा, भिडियो एक्सरेलगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत पोखरेलले, ग्रामीण सेवाग्राहीलाई उत्कृष्ट सेवा दिइरहेकोमा खुशी व्यक्त गरे । उनले स्वास्थ्य केन्द्रलाई अस्पतालको दर्जा दिन जिल्ला स्वास्थ्यसँग पहल गरिने बताए ।