तस्करीमा संलग्न भारतीय नागरिकसहित ३ सय ५० कार्टुन मदिरा विराटनगर प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपालबाट भारततर्फ तस्करी गर्न राखिएको मदिरा प्रहरीले सोमबार बिहान साढे १ बजे मोरङको जहदा– १ लङ्का टोलबाट नियन्त्रणमा लिएको छ ।

मदिरासँगै भारत मटियारीका ३२ वर्षीय शिवलाल रायलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । 

मदिरा अवैध रुपमा भारत लैजान लागेको विशेष सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा प्रहरीले छापा मारेको थियो । फरार रहेका यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यादवको घरबाट प्रहरीले सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओके लगाय ब्राण्डका मदिरा बरामद गरेको जनाएको छ । 

मदिराको बजार मूल्य सात लाख रुपैयाँ बराबरको रहेको मोरङ प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि सोमबार आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने प्रहरीको भनाइ छ । 

Madira_Morang_Police