बिर्तामोड । झापामा यसबर्ष चैत २० गतेदेखि २८ गतेसम्म हात्तीपाइले रोगको औषधी खुवाईने भएको छ । हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य शाखाले यस्तो लक्ष्य राखेको हो ।
स्वास्थ्य कार्यालयले यसबर्षपनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन लागेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले चैत २० गतेदेखि सुरु हुने औषधि सेवन कार्यक्रमको लागि झापामा १५ वटै स्थानीय तहमा तयारी शुरु गरिएको बताए ।
जनस्वास्थ्यले प्रत्येक स्थानीय तहमा अन्तक्रिया आयोजना गर्दै औषधी सेवनका लागि सचेत गर्ने अभियान शुरु गरेको जनाएको छ । गतबर्ष ७८ प्रतिशतले औषधि सेवन गरेकोमा यसवर्ष ९० प्रतिशत नगरबासीहरुलाई औषधि सेवन गराउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको चम्लागाईँले बताए ।
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीबाहेक सबैले सेवन गर्न मिल्ने हुँदा उक्त कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरु मात्र नभइ सरोकारवालाहरु सबैलाई जुट्न अनुरोध गरिएको छ ।

सन् २०१२ देखि नियमितरुपमा आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको झापामा हाल रोगीको दर १ दशमलव ४७ प्रतिशत रहेको फोकल पर्सन चौलागाईंले जानकारी दिए ।
घरदैलो अभियानमार्फत् विगतमा औषधि सेवन गराउने भन्दा पनि वितरण मात्र गरेको हुँदा केही कमजोरी भएको स्वीकार गर्दै उनले यसवर्ष वितरणभन्दा पनि परिचालन भएको स्वास्थ्यकर्मीहरुले औषधि सेवनमा जोड दिने बताए ।
गतवर्ष जिल्लामा ६८ दशमलव ५१ प्रतिशतले औषधि सेवन गरेकोमा यसवर्ष आठ लाख २ हजार ६ सय जनालाई औषधि सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालयको रहेको छ ।