भण्टाबारी। लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाइएको छ । २०४६ साल वैशाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका सिंहउपर सप्तरी प्रहरीले अनुसन्धान थालेको हो ।

मङ्सिर १९ गते धरानबाट ७७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका भारतीय सिंहलाई जिल्ला अदालत सुनसरीले फागुन २५ गते पुर्पक्षका जेल पठाउन आदेश दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस–२ हाल महदेवा गाउँपालिका–१ जन्मस्थान भएको भनी ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएको सप्तरी प्रहरीको भनाइ छ ।

ब्राउनसुगरसहित पक्राउ परेका सिंहले आफू नेपाली भएको बताए पनि उनी भारतीय भएको प्रमाणसहित समाचार ब्लाष्ट टाइम्सले प्रकाशित गरेपछि सप्तरी प्रहरीले अनुसन्धान थालेको हो ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहले नागरिकतासम्बन्धी कसुर गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को दफा ९ को उपदफा (२) बमोजिम कारबाही अगाडि बढाउन जिल्ला अदालत सप्तरीले समेत अनुमति दिएको छ ।

राजकुमार सिंह भारतीय नागरिक हुन् । मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँचको क्रममा पक्राउ गरेको थियो । प्रहरीको छड्के चेकजाँचका क्रममा बा.१५ च ९०८८ नम्बरको स्कारपियोमा ठूलो परिमाणमा ब्राउनसुगरसहित सिंह पक्राउ परेका हुन् ।

उनलाई छुटाउन सरकारी निकायबाटै चलखेल भएकोबारे ब्लाष्ट टाइम्सले निरन्तर समाचार प्रकाशित गरेपछि अनुसन्धानपश्चात् सिंहलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका जेल पठाउने आदेश दिएको हो । आर्थिक प्रलोभनमा परी वकिलसहितका केही सरकारी निकाय नै अभियुक्त छुटाउन लागेको समाचार बाहिरिएपछि उनीहरूको प्रयास विफल भएको थियो ।

अनेकौं चलखेल गरिए पनि लागूऔषध मुद्दामा जेल परेका सिंहलाई नागरिकता मुद्दामा जोगाउनसमेत चलखेल भइरहेको स्रोतको भनाइ छ । राजकुमार सिंह भारतीय नागरिक हुनुका साथै झुठो विवरण पेश गरी सप्तरीबाट नेपाली नागरिकता लिएको प्रमाण ब्लाष्ट टाइम्सले फेला पारेको छ ।

उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको हो । २०२१ फेब्रुअरी ५ तारिखमा उनको भारतीय निर्वाचन आयोगमा मतदाता परिचय–पत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको थियो । सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वडानम्बर १० का स्थायी बासिन्दा हुन् भने उनको बाबुको वास्तविक नाम रामबालक सिंह हो । कीर्ते गरी नेपाली नागरिकता लिएका उनको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो ।

कीर्ते नागरिकता लिएका भारतीय नागरिक राजकुमार सिंहलाई जोगाउन प्रमाण मेटाइएको छ । सिंहलाई कानूनी कारबाही हुनबाट जोगाउन भारतीय मतदाता नामावलीबाट नाम हटाएको पाइएको हो ।

मङ्सिर १९ गते अर्थात् डिसेम्बर ३ तारिखका दिन पक्राउ परेका सिंह भारतीय भएको सबुत मेटाउन ५ जनवरी २०२१ को प्रपत्र ७ को माध्यमबाट भीमनगरका बीएलओ राजीव कुमारको सहयोगमा भारतीय मतदाता सूचीबाट नाम हटाउँदै अन्तै बसाइसराइ गरेको समाचार स्थानीय भारतीय समाचारपत्रमा समेत प्रकाशित भएको छ । लागूऔषध मुद्दामा जेल परेका राजकुमार सिंहको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।