विराटनगर/ विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा र्याली निकालेको छ । लियो क्लब अफ विराट मेडिकल कलेजले विराटनगरमा आज बुधबार विहान र्याली निकालेको हो ।
क्लबका सचिब प्रज्जवल कुमार झाले क्षयरोगको बारेमा जनचेता जोगाउने उद्देश्यले र्यालीको आयोजना गरिएको बताए । ‘क्षयरोग फोक्सोको रोग हो । यसको उपचारले पूर्ण रूपमा ठिक हुन्छ,’ मेडिकल क्षेत्रका विद्यार्थी समेत रहेका झाले भने, ‘त्यही भएर सचेतना जोगाउने उद्देश्यले र्याली निकालेको हो ।’
विराटनगरको सहिद रंगशालादेखि निकालेको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि महेन्द्र चोकमा पुगेर सम्पन्न भएको छ । उनीहरूले सचेता मुलक प्लेकाट बोकेर र्यालीमा सहभागि भएका थिए ।
प्रदेश १ मा १४ हजार बढी क्षयरोगी

प्रदेश १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ । प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सेभ द चिल्ड्रेन विराटनगरले जनाएको छ ।
प्रदेश १ का झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ । एक अध्ययनअनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ ।
संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको दाबी गरे ।
एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको उनको भनाई छ ।
उपचार सहयोगीको निगरानीमा औषधि खानु अगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयारोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ ।