इटहरी । इटहरीका बजार क्षेत्रमा सञ्चालित अधिकांश पसलहरूमा मूल्य सूची नभेटिएको अनुगमनमा खटिएका अधिकारीले जनाएका छन् ।
विराटनगरस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा अधिकांश किराना पसलमा मूल्य सूची नभेटिएको हो । अनुगमनका क्रममा मूल्य सूचीसँगै, लेबलिङ नभएका सामानहरू पनि बिक्री गरेको भेटिएको छ ।
इटहरीका किराना तथा होलसेल पसलहरूको अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची फेला नपरेको विभागका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले बताए ।
केही पसलमा नेपालमा प्रतिबन्धित वस्तुसमेत बिक्री गरेको भेटिएको पोखरेलले बताए । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामानहरू बिक्री गर्ने चारवटा पसललाई ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम कारबाही गरिएको उनले बताए ।
पोखरेलका अनुसार नवदुर्गा सप्लायर्सलाई ५ हजार रुपैयाँ, बिडी सप्लायर्स, भट्टराई स्टोर्स र राम किराना पसललाई १०–१० हजारका दरले जरिबाना गरिएको छ ।
यसअघि धरानमा पनि अनुगमन गरिएको थियो । व्यापारीहरूले नेपालमा प्रतिबन्धित वस्तुहरू बिक्री गरेको पाइएको थियो । बजार अनुगमन व्यापारीलाई डर, त्रास देखाउने र दुःख दिनलाई मात्र नभई व्यापारीलाई उत्तरदायी बनाउनका लागि अनुगमन गरिएको उनको भनाइ छ ।
इटहरी चोकमा बेला–बेला अनुगमन भए पनि इटहरीसँगै जोडिएको तरहरा, पकली, खनारलगायतका क्षेत्रमा बजार अनुगमन नहुने गरेको उपभोक्ताहरू बताउँछन् ।