छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह रुपमा वृद्धि भइरहेको छ । आइतबार मात्र भारतमा ६८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ हजार २ सय ६६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार भारतमा १६८ दिनपछि सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । भारतमा कुल संक्रमितको संख्या करिब १ करोड २० लाख पुगेको छ । त्यसमध्ये १ करोड १३ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ५२ पुगेको छ ।
भाइरसका कारण सबैभन्दा बढी महाराष्ट्र प्रभावित देखिएको छ । महाराष्ट्रका ३६ जिल्लामध्ये २५ बढी प्रभावित छन् ।
महाराष्ट्र सरकारले संक्रमणको ग्राफ चिन्ताजनक ढंगले उकालो लाग्न थालेपछि अप्रिल १५ सम्मका लागि रात्रिकालीन निषेधाज्ञा बढाइएको छ । सपिङ मल, रेस्टुराँहरू राति ८ बजेपछि बन्द गराइएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म बगैंचा र तटीय क्षेत्रमा जान रोक लगाइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले परिस्थितिमा सुधार नआए लकडाउन गर्ने चेतावनी दिएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईमा मात्र ५५ स्थानलाई संक्रमणका आधारमा उच्च जोखिमका क्षेत्र घोषणा गरिएको छ ।
कर्नाटक, तेलंगना, केरला, गुजरात र पन्जाबमा दिनहुँ संक्रमितको संख्या बढ्दो छ । त्यसैगरी मध्यप्रदेश सरकारले होलीमा हुने भीडलाई रोक्न इन्दौर सहरमा आइतबार र सोमबारका लागि लकडाउन गरेको छ ।
दिल्लीमा आइतबार एकै दिन १ हजार ८ सय ८१ संक्रमित थपिएका छन् र ९ जनाको मृत्यु भएको छ ।