विजयपुर । धरानस्थित भोटेपुल हेल्थ क्लिनिकका सञ्चालक डा.जितेन्द्रप्रसाद गुप्ताले थप २ वटा क्लिनिक दर्ता नै नगरी अवैधानिक रूपमा सञ्चालन गर्दै आएको पाइएको छ ।

विजयपुर हस्पिटल र नवोदित मेडिकलमा समेत कार्यरत डा.गुप्ताले धरान–१७ रेल्वे चोकमा ‘नमस्ते हेल्थ केयर सेण्टर’ र धरान–१३ जिरोपोइण्टको ‘निदान हेल्थ केयर सेण्टर’ दर्ता नै नगरी अवैधानिक रूपमा सञ्चालन गरेको पाइएको छ । गुप्ताले आफ्ना क्लिनिक अवैधानिक रूपमा सञ्चालन भएको स्वीकार गर्दै दर्ताको लागि कागजी प्रक्रियामा रहेको बताए । 

जिरोपोइण्टको निदान हेल्थ केयर सेण्टर सञ्चालन भएको स्थानमा ‘एवान मेडिकल’ सञ्चालन थियो । अर्काको नाममा सञ्चालन भएकाले प्रमाण–पत्र लगेपछि एवान मेडिकल बन्द गरी निदान हेल्थ केयर सेण्टर दर्ता नै नगरी सञ्चालन गर्दै आएका हुन् । उनले धरान–१५ स्थित देउराली पथमा सञ्चालित ‘होली हेल्थ क्लिनिक’ र धरान–७ को भोटेपुलमा सञ्चालित ‘भोटेपुल हेल्थ क्लिनिक’आफ्नै नाममा दर्ता भएको बताए । 

परीक्षण नै नगरी रिपोर्ट

भोटेपुल हेल्थ क्लिनिकले बिरामीको नमुना परीक्षण नगरी रिपोर्ट दिने गरेको २ महिना उक्त क्लिनिकमा गरेका कर्मचारी राजु राय यादवले बताएका छन् । क्लिनिकका सञ्चालक डा.जितेन्द्रप्रसाद गुप्ताले आफ्नो ल्याव टेक्निसियन बिदामा भएको बेला नमुना लिएर परीक्षण नै नगरी ‘नर्मल’ रिपोर्ट लेखेर दिने गरेको यादवको भनाइ छ । उनले भने, ‘कर्मचारी बिदामा हुँदा डाक्टरले स्याम्पल लिएर राख्ने अनि रिपोर्ट लिन आउँदा जाँचै नगरी रिपोर्ट लेखेर दिन्थे, मेरै अगाडि ३ पटक दिए ।’ 

ल्यावमा अयोग्य कर्मचारी

ल्याव परीक्षण गर्नका लागि सम्बन्धित विषय नै अध्ययन गरेको हुनुपर्छ । तर, भोटेपुल हेल्थ क्लिनिकमा ल्याव परीक्षण गर्ने ल्याव असिष्टेण्ट भए पनि सम्बन्धित विषयको परीक्षा उत्तीर्ण नगरेको राजु राय यादवले बताए । तर, उक्त क्लिनिकका सञ्चालक डा.जितेन्द्रले ल्याव टेक्निसियन बिदामा हुँदा आफैले पनि परीक्षण गर्ने गरेको राजुले आरोप लगाए । डा.जितेन्द्रले भने ल्याव असिष्टेण्ट राखेर नै परीक्षण गर्दै आएको दाबी गरे । थाइराइड फङ्सन टेष्ट (टिएफटी) गर्न ल्याव विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भए पनि उक्त मेडिकलमा असिष्टेण्टले नै परीक्षण गर्दै आएको राजुले बताए ।

प्रतिबन्धित औषधि खरिद बिक्री

भोटेपुल हेल्थ क्लिनिकले लागूऔषधको रूपमा प्रयोग हुने औषधि बिक्री गर्ने गरेको राजुले आरोप लगाएका छन् । उनले होलसेलदेखि त्यस्ता प्रकारका औषधि ल्याउने गरेको तर, क्लिनिकमा राखेर बिक्री नगरी सेटिङमा बेच्ने गरेको आरोप लगाए । उनले आफू पनि डा. जितेन्द्रसँग गएर ल्याउने गरेको पनि बताए । तर, यता क्लिनिकका सञ्चालक डा. जितेन्द्रले भने यस्तो किसिमका कुनै पनि अवैधानिक कार्य नगरेको दाबी गरे । 

कर्मचारीलाई पारिश्रमिक नदिने, सास्ती दिने गरेको आरोप

भोटेपुल हेल्थ क्लिनिकले काम लगाई पारिश्रमिक नदिने गरेको आरोप काम गरेर छोडेका कर्मचारीले लगाएका छन् । राजु राय यादवले आफूलाई २ महिनासम्म काम लगाएर पारिश्रमिक नदिई कामबाट निकालेको आरोप लगाए । सोही क्लिनिकमा काम गरेकी एक कर्मचारीले नाम प्रकाशित नगर्ने सर्तमा काम लगाई पारिश्रमिक नदिएपछि काम छोड्न बाध्य बनेको बताइन् । 

उनले काम लगाउने तर, पारिश्रमिक नदिने गरेकाले छोडेको बताइन् । आफूले सैद्धान्तिक र प्रयोगात्मक अध्ययन पूरा गरी काम गर्न सक्ने भएकाले पारिश्रमिक नदिने क्लिनिकमा काम नगरी निस्किएको बताइन् । यता डा. जितेन्द्रले आफूले परीक्षणकालसम्मको नदिने र त्यसपछि कामदारलाई पारिश्रमिक दिने गरेको बताए । 

राजु राय यादवको विषयमा भने आफूले नै राजुबाट ५ हजार रुपैयाँ लिन बाँकी रहेको बताए । राजुले भने काम सुरु गरेको एक हप्तादेखि काम हेरी अघिल्लो महिना १० हजार दिएको बताए । उनले आफ्नो काम हेरेर नै आफूले नै सञ्चालन गर्ने गरी धरान–१७ को केयर सेण्टर खोलेको बताए । उनले आफूलाई बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म काम लगाई पारिश्रमिक नदिएको आरोप लगाएका छन् । डा.जितेन्द्रले भने आफूमाथि लगाएका आरोप गलत भएको दाबी गरे ।