पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरेमा ६४ औं राष्ट्रिय सहकारी दिवश मनाउने क्रममा नेपालका सहकारी प्रवद्र्धक बखानसिंह गुरुङको प्रतिमा अनावरण गरिने भएको छ ।

 जिल्ला सहकारी संघको अगुवाईमा बनेको सहकारी दिवशको मुल समारोह समितिले विहीवार पथरीमा पत्रकार सम्मेलन गरी एकसातादेखि सञ्चालित दिवशका कार्यक्रम अन्तर्गत चैत २० गते अन्तिम दिनका रुपमा विशेष कार्यक्रम राखेको जानकारी गराएको छ ।

समितिका संयोजक डिल्ली पोखरेलले जिल्लाका सहकारीहरुको सहभागितामा झाँकी सहितको र्यालीपछि १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यतामा संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल सहित प्रदेशका मन्त्रीहरुको सहभागितामा कार्यक्रम हुने जनाए ।

जसमा, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको अगुवाईमा मनकामना सामुदायिक वन क्षेत्रभित्र निर्माण भएको नेपालका सहकारी प्रवद्र्धक चितवनको बखान ऋण सहकारी समितिका उत्प्रेरक बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण गरिने उनले बताए ।

नगरपालिकाको समेत सहयोगमा ४ लाखको लागतमा शालिक र पार्कस्थल निर्माण गरिएको छ । सो दिन विभिन्न सहकारी र सहकारी अभियन्तालाई सम्मान गर्ने पनि कार्यक्रम रहेको छ ।

२ सय ५१ औं मुल समारोह समिति तथा उपसमितिहरु गठन गरी चैत १४ देखि सुरु गरिएको सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत हालसम्म खेलकुद, रक्तदान, सरसफाई, बृद्धबृद्धालाई भोजन, विरामीलाई फलफुल वितरण, विद्यार्थीहरुलाई छात्रबृत्ती एवम् पाठ्य सामगी वितरण सहितका कार्यक्रम सम्पन्न भएका छन् ।