मोरङको कटहरी गाउँपालिका – २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास समाजले गरिबीरहित नेपालको लक्ष्यसहित पाँच करोडको अक्षयकोष स्थापना गरेको छ । गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना गरिएको हो ।
गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गरेबापत एक अन्तर्राष्ट्रिय संस्थाले समाजलाई तीन लाख डलरको पुरस्कार प्रदान गरेको थियो । सो पुरस्कारमा रकम थप गरी संस्थाले पाँच करोडको अक्षय कोष बनाएको जीवन विकास समाजका अध्यक्ष तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डलले जानकारी दिए । सो कोषबाट प्राप्त रकमले वार्षिक रूपमा गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गरिने भएको छ ।
कोषबाट दीगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने गैह्र–सरकारी संस्था, शैक्षिक संस्था र पत्रकारलाई यसै वर्षदेखि वार्षिक १० लाख बराबरको ‘दीगो विकासका लागि जीवन विकास पुरस्कार २०७७’ प्रदान गरिने भएको छ ।
पहिलो विधाअन्तर्गत गैर सरकारी संस्थालाई ५ लाख, दोस्रो विधाअन्तर्गत सामुदायिक पुस्तकालय तथा सामुदायिक विकास केन्द्रलाई ३ लाख र तेस्रो विधाअन्तर्गत गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकारलाई दुई लाखको नगद पुरस्कार प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।
पुरस्कारको व्यवस्थापनका लागि काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधि सम्मिलित ७ सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।
समितिले दीगो विकासको १७ वटा लक्ष्यहरूअन्तगर्तको ‘गुणस्तरीय शिक्षा’ को क्षेत्रमा योगदान पु¥याउने सरकारी तथा गैर सरकारी संस्था र पत्रकारहरूलाई चैत २५ गतेभित्र आवेदन पेश गर्न प्रथम पटक माघ २१ र दोस्रो पटक फागुन २५ मा सूचना जारी गरेको थियो ।
समितिले पुरस्कारको आवेदकको हकमा व्यक्तिगत क्षमता तथा संलग्नता, दुरदृष्टि तथा रणनितिक योजना, राष्ट्रिय दायित्व बोध र भौतिक तथा संस्थागत उपलब्धीलगायतका विषयलाई मूल्याङ्कनको आधार बनाएको नेपाल सरकारका पूर्वसचिव माश्रम मिश्रले जानकारी दिए । पुरस्कारका लागि योग्यता पुगेका इच्छुकले चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।