विजयपुर / करिब साढे ८ लाख रुपैयाँ बराबरको सुन लिएर भारतीय कालिगड सम्पर्कविहीन बनेको सुन व्यवसायीले जनाएका छन् ।
धरान–२ रत्नरोडमा विगत १० वर्षदेखि कार्यरत लारा भनिने भारतीय कालिगड पाँचजना व्यवसायीको ८ लाख ३२ हजार ३५ रुपैयाँ बराबरको सुन लिएर सम्पर्कविहीन बनेका हुन् । ती कालिगडको वास्तविक नामसमेत थाहा नभएको व्यवसायीले बताए ।
व्यवसायीका अनुसार एकजनाको नगद र अन्य चारजनाको सुन लिएर सम्पर्कविहीन बनेका हुन् । धरान–२ स्थित बाराही ज्वेलरीको २५ ग्राम सुन लिएर सम्पर्कविहीन बनेको ज्वेलरीका सञ्चालक रोजन लामिछानेले बताए ।
लामिछानेले १ लाख ८० हजार रुपैयाँ बराबरको सुन लगेको दाबी गरे । त्यस्तै पाथीभरा ज्वेलर्स प्रालिको पनि ३५ ग्राम सुन लगेका छन् । प्रालिका सञ्चालक चक्र सेनचिउरीका अनुसार २ लाख ६२ हजार ७ सय ८५ रुपैयाँ मूल्य बराबरको सुन लिएर बेपत्ता बनेका छन् ।

माता लक्ष्मी ज्वेलर्सको पनि १३ दशमलव १७ ग्राम सुन लिएर हिँडेको सञ्चालक रामकुमार रसाइलीले जानकारी दिए ।
उनले ९९ हजार २ सय ५० रुपैयाँ बराबरको सुन लिएर हिँडेको बताए । कालिगड सुमन गहतराजको पनि ९० हजार बराबरको सुन लिएर भागेको ती व्यवसायीले बताए ।
त्यस्तै एक सुनचाँदी व्यवसायीको दुई लाख रुपैयाँ नगद लिएर हिँडेका छन् । भारतीय कालिगडले सुन लिएर भाग्ने गरेको यो पहिलो घटना नभएको व्यवसायी बताउँछन् । दुई वर्षको अवधिमा तीनपटक व्यवसायीको सुन लिएर गायब हुँदै आएको व्यवसायी बताउँछन् ।
पीडित व्यवसायीले हालसम्म उजुरी दिएका छैनन् । शनिबार (सार्वजनिक बिदाको दिन) उजुरी दिने तयारीमा रहेको उनीहरूले बताए । धरानमा सुनचाँदीको काम गर्ने करिब ५० प्रतिशतभन्दा बढी भारतीय कालिगड छन् ।
भारतीय कालिगडले ३ प्रतिशतमा नै काम गर्ने गरेकाले पनि व्यवसायीले भारतीय कालिगडलाई प्राथमिकता दिने गरेको कालिगड तेजेन्द्र विश्वकर्माले बताए । नेपाली कालिगडले ५–६ प्रतिशत लिने भएकाले भारतीयलाई प्राथमिकता दिने गरेका हुन् । जसका कारण नेपाली कालिगड विस्थापित हुने गरेका छन् ।