विराटनगर। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएको छ । भारतमा संसारकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेको बेला खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा लर्को लाग्ने गरेको छ । सीमा नाकामा पर्याप्त चेकजाँच नगरी र स्वास्थ्य सुरक्षा सतर्कता नअपनाइकन भइरहेको आवत–जावतले सङ्क्रमण बढ्ने खतरा भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
लामो र खुला सिमानाको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेहरूका कारण सङ्क्रमणको जोखिम उच्च भएको हो । मुख्य नाकाबाट भन्दा चोरबाटो हुँदै आउनेहरूको सङ्ख्या उच्च छ । उनीहरू निगरानी बिनै नेपाल प्रवेश गरिरहेका छन् । प्रदेश १ को राजधानी सहर विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवत–जावत ठप्प छ ।
तर, मोरङको ६३ किलोमिटरमा रहेको २६ वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्नेको दिनहुँ लर्को लाग्ने गरेको छ । यद्यपि सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन । जसले गर्दा सङ्क्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरूमार्फत् नेपालमा पनि कोरोना सङ्क्रमण फैलने खतरा बढ्दै गएकोमा स्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
यसअघि भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भए पनि अहिले खुलेआम आवत–जावत हुने गरेको छ । केही नाकामा शङ्कास्पदको एण्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ ।

सीमा नाका हुँदै नेपाल भित्रिएका केहीमा कोरोना सङ्क्रमण देखिइहालेमा सङ्क्रमित व्यक्तिलाई सुरक्षित रूपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन ।
प्रशासनले कोभिड जोखिम व्यवस्थापन समितिले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘सीमा नाकाहरूमा हेल्थ डेस्क राख्न हामीले स्थानीय तहलाई भनिसकेका छौं’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘केही दिनभित्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क रहनेछ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र आवत–जावत गराइनेछ ।’
विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिणी गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ । दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोर बाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन् । तर, सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फ आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन् ।
विराटनगर–१५ स्थित इस्लामपुर र मटेरुवालगायत मोरङस्थित प्रत्येक छोटी भन्सार नाकामा पनि सर्वसाधारण खुला सीमाको फाइदा उठाउँदै निर्वाध आउजाउ गर्ने गरेको स्थानीयको भनाइ छ । खुलेआम आवत–जावतले सङ्क्रमणको जोखिम पनि बढाएको छ । तर, खुला सिमाना भएकाले जताततै दशगजाबाट सर्वसाधारणको भारत आवागमन भइरहेको हो । दशगजाबाट भारततर्फ आउने–जानेलाई सीमामा खटिएका सुरक्षाकर्मी रोकेका छैनन् ।
भारतबाट औपचारिक रूपमा आउने–जानेलाई रानी भन्सार नाकास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर मात्रै नेपालतर्फ आउन दिइएको छ ।
प्रदेश १ मा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्रै यस प्रदेशमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये विराटनगर महानगरका मात्रै ११ जना रहेको सामाजिक विकास मन्त्रालयको अभिलेखमा देखिन्छ । सुनसरीको इटहरीमा ३, भोक्रा नरसिंहमा १, झापाको अर्जुनधारा, दमक र बिर्तामोडका १–१ र प्रदेश बाहिरका १ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा बुधबार १६, मङ्गलबार १०, सोमबार ७ र आइतबार ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।
प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सङ्क्रमण रोकथामका लागि आवश्यक सतर्कता अपनाउने बताइन् । उनले विराटनगरसहितका अन्य अस्पतालहरूमा पनि कोभिड उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएको बताइन् । ‘कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरिका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ’ उनले भनिन्, ‘प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी सङ्क्रमितको उपचारको व्यवस्थापनका लागि निर्देशन दिएका छौैं ।’