धनकुटा/धनकुटाको हिलेबाट विराटनगर फर्कंदै गरेको को.१ च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका–४ देब्रेबास भोटेचौतारामा सोमबार बिहान ८.४५ बजे दुर्घटना भयो ।
मोरङको विराटनगर–९ रङ्गेलीबाट धनकुटाको हिलेमा सुत्केरी महिला पु¥याएर फर्कंदै गर्दा विराटनगरस्थित सिटी हस्पिटल प्रालिको सो एम्बुलेन्स सोमबार बिहान कोशी लोकमार्गको देब्रेबास भोटेचौतारा सडक खण्डमा दुर्घटना भएपछि एम्बुलेन्सभित्र गाँजा र रक्सी रहेको फेला पर्याे ।
सडकको नाली भत्काउँदै देब्रेबास भोटेचौतारास्थित गोमा ब्लोन तामाङको घरको आँगनमा पुगेको एम्बुलेन्सका चालक मातेको अवस्थामा भेटिए । एम्बुलेन्स चालकले गाँजा र रक्सीले मातेर एम्बुलेन्स चलाएको कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।
एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–१४ का ३० वर्षीय नरेश साहले मादकपदार्थ सेवन गरेर एम्बुलेन्स चलाएको पाइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

प्रहरीले चालक साह र सह–चालक सोही ठाउँका २४ वर्षीय श्रवण मण्डललाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि एम्बुलेन्समा चेकजाँच गर्दा चालकको सिटमुनि करिब ३ सय ग्राम गाँजा र डेढ लिटर लोकल रक्सी बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा रहेका चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । चालक साहले मादकपदार्थ सेवन गरेको र गाँजासमेत बोकेको हुनाले गाँजाको अवैध कारोबारमा संलग्न रहेको हुनसक्ने देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।