विराटनगर/ विराटनगरका एक जना किशोरीलाई तीन महिनासम्म बन्धक बनाएर जवरजस्ती करणी गरेको आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ परेका छन् ।
छिमेकी मुलक भारतमा पु्र्याएर तीन महिनासम्म बन्धक बनाएर बलत्कार गरेको आरोपमा प्रहरीले विराटनगर –१९ का २५ वर्षीय दिनेश मण्डललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
मण्डलले बन्धक बनाएको ती किशोरीलाई नेपाल भारतको सीमा नाका रतुवामाइ नगरपालिको दक्षिण क्षेत्र सिक्टीदेखि प्रहरीले मंगलबार उद्धार गरि विराटनगर ल्याएको छ । झारफुक गर्ने मण्डलले ती युवतीलाई माघ १० गते प्रलोभनमा पारेर घरबाट लिएर गएका थिए ।
प्रहरीका अनुसार मण्डलले युवतीलाई कञ्चनपुर, महेन्द्रनगर, वीरगञ्ज लगायत धेरै ठाउँमा घुमाएपछि भारत पु्र्याएको खुलेको छ । नेपालका ती ठाउँमा लैजाँदा मण्डलले आफूसँग नहिँडे बुवा–आमालाई मारिदिने धम्की दिने गरेको प्रहरीको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘मार्ने, काट्ने भन्दै यसरी घुमाउँदा उनले जबरजस्ती करणी गरेको पनि युवतीले बताएकी छिन्,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘युवती विक्षिप्त अवस्थामा रहेकाले मनोपरामर्शमा राखिएको छ ।’ युवती लिएर लैजानुको उद्देश्यबारे उनले प्रहरीलाई स्पष्ट बताएका छैनन् ।
मण्डल धामी–झाँक्रीको काम गरी हिँड्ने व्यक्ति हुन् । गत पुस महिनाको अन्त्यतिर उनी युवतीको घर पुगेका थिए । युवतीलाई लिएर हिँड्नुअघि मण्डलले धेरै हत्कण्डा अपनाएको देखिएको छ ।
युवतीको घर पुग्दा मण्डलले आफूसँग तान्त्रिक विद्या रहेको बताएका थिए । त्यसैक्रममा एक दिन मण्डलले ५० हजार रुपैयाँमा विराटनगरकै एउटा ज्वेलर्सबाट सुन किने । त्यो सुन बोकेर युवतीको घर गए । आँगनको एक ठाउँमा खाल्डो खने ।
झुक्याएर आफैंले ल्याएको सुन खाल्डोमा देखाए । सुन फेला परेको ठानेर बुवा–आमा मख्ख परे । मण्डलले विस्तारै अन्यत्र पनि खाल्डो खन्दै जानु पर्ने, सुनचाँदी फेला पर्दै जाने बताइरहेका थिए । प्रहरीको अनुसन्धान अनुसार मण्डलले अझै घरआँगनबाट धेरै सुन, चाँदी निकालिदिन्छु भनिरहेका थिए ।
त्यसका लागि आफूले भनेका ठाउँमा सात वटा खोलाको पानी ल्याएर बिहे नगरेकी युवतीले चढाउनु पर्ने बताएका थिए । ‘जल चढाउँदा सुन–चाँदी निस्कने र धनी भइने भन्दै परिवारलाई आश्वस्त पार्ने गरेको पाइएको छ,’ एसपी खड्काले भने ।
यसो गर्नुको उद्देश्य युवतीलाई प्रभावमा पार्नु थियो ।
‘दिनहुँजसो जाने र तन्त्रमन्त्रका कुरा गरेर लोभ्याउँदा रहेछन्,’ एसपी खड्काले भने, ‘यसरी जाने क्रममा युवतीसँग सम्पर्क बढाएका रहेछन् ।’ सम्बन्ध बनाउँदै गएपछि उनले माघ १० गते युवतीलाई घुम्न जाऔं भन्दै घरैबाट लिएर सम्र्पकबिहीन बनेका थिए ।
महिना दिन बित्दा पनि छोरी घर नफर्केपछि परिवार प्रहरीलाई गुहारेका थिए । परिवारले विवरण खुलाएर जाहेरी दिएपछि प्रहरी मण्डलको खोजीमा निस्किएको थियो ।
मण्डल, युवती र उनको परिवारबीच त्यसअघि कुनै पनि चिनजान थिएन । लामो खोजीपछि मण्डलसँगै युवतीलाई भेट्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।