पथरी । सरकारी सडकको ट्रयाक खन्ने क्रममा एक परिवारले प्रहरी अधिकृतकै अगाडि जेसिबी जलाए पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा सडकको ट्रयाक खन्ने क्रममा स्थानीय सासूबुहारी मिलेर कारिख कन्स्ट्रक्सनको जेसिबी जलाए पनि कानूनी कारबाहीमा प्रहरी उदासिन बनेको पीडित पक्षको आरोप छ । उक्त सडक खन्नका लागि नगरको न्यायिक समितिले २०७७ चैत १६ गते नै सडक खोलेर कार्यालयलाई जानकारी गराउनू भनी वडा कार्यालयलाई परिपत्र गरेको थियो ।

वडाध्यक्ष जोगबहादुर धिमाल, सदस्य रेवत बस्नेतलगायतको उपस्थितिमा सडकको ट्रयाक खोल्ने क्रममा आफ्नो जग्गाबाट सरकारी बाटो लाने प्रयास भएको भन्दै पद्मादेवी उप्रेती र जेठी बुहारी बेनिशा चौंलागाईंले को.१ क १९९३ नम्बरको जेसीबी जलाएका हुन् ।

पेट्रोल छर्केर जेसिबी जलाउँदा २ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको प्राविधिक इञ्जिनियरले जनाएको कन्स्ट्रक्सनका सञ्चालक सञ्जय साहले बताए । घटना वैशाख ४ गते करिब ११ बजेको हो । उक्त घटनामा पीडित पक्षले इलाका प्रहरी कार्यालय पथरीलाई उजुरी दिए पनि हालसम्म आरोपितलाई पक्राउ गर्न नसक्दा आफू पीडित बनेको सञ्चालक साहले बताए । 

जेसिबीको भौतिक र हेल्टेजमा क्षति पुगेको छ । प्रहरीले हालसम्म आरोपितहरूलाई नियन्त्रणमा लिएको छैन । राजनीतिक दबावका कारण प्रहरीले नियन्त्रणमा लिन नसकेको सञ्चालक साहको आरोप छ । उप्रेतीको परिवार तीन पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएको बताइन्छ।

उनीहरूले त्यहाँ जग्गा कमाउँदै आएका थिए । सो बराबरको मोहियानी हकबापत ४ कठ्ठा ४ धुर जग्गा प्राप्त गरिसकेका छन् । आरोपित उप्रेतीका अनुसार आफूले मोही पाएको जग्गाको सिमानामा घरि ऐलानी जग्गा छ घरि सरकारी बाटो पर्छ भन्दै आएको तर, एक्कासि सरकारी बाटो भन्दै सडकको लागि ट्रयाक खन्न थालेपछि आफूले रोक्ने प्रयास गरेको बताइन् ।

उनले वडामा पनि यसबारेमा आफूले असहमति राख्दै आएको जनाइन् । उक्त जग्गाबारे नगरको न्यायिक समितिको पहलमा पटक–पटक छलफल भएको थियो भने न्यायिक समितिले २०७७ चैत १६ गते बाटो देखिएको भन्दै सडक खोल्न वडालाई निर्देशन गरेको थियो । 

सोही क्रममा जेसिबीमा आगो लगाएका थिए । जेसिबीमा आगो लगाएको समयमा दुईजना प्रहरी घटनास्थलमै रहेका थिए । प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दागर्दै पनि आगो लगाइएको र सासूबुहारीले जेसिबीमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको चालक विजय श्रेष्ठले जानकारी दिए ।

आरोपित पद्मादेवीले आफूले प्रहरीकै अगाडि आगो लगाउने प्रयास गरेको हाकाहाकी बताउँछिन् । तर, पनि प्रहरीले पक्राउ नगर्दा कन्स्ट्रक्सनका सञ्चालक थप पीडित बनेका छन् ।

प्रहरीले नियन्त्रणमा नलिनुको कारण भने उप्रेती प्रधानमन्त्री केपी ओलीसँगको नाता सम्बन्धमा रहेको खुलेको छ । वैशाख ६ गते क्षतिपूर्ति तिरे मिल्ने मिलाउने प्रयास भए पनि उप्रेतीले एकै पैसा नतिर्ने बरु जेल जान तयार रहेको भनी प्रहरीकै अगाडि धम्कीपूर्ण भाषा प्रयोग गरेको वडाध्यक्ष जोगबहादुर धिमालले बताए ।

ब्लाष्टले फोन सम्पर्क गर्दा पनि उनले सोही कुरा दोहोर्याउँदै भनिन्, ‘जेल जान्छु तर, एक पैसा तिर्दिनँ ।’ जेसिबी सञ्चालक साहले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिइसकेका छन् ।

यता वडाध्यक्ष धिमालले पनि पक्राउ गरेर कानूनी कारबाही गर्न पत्र लेखेरै सिफारिस गरे पनि हालसम्म पक्राउ नपर्नुले कानूनी राज्यमाथि नै प्रश्न उठेको जानकार बताउँछन् । यसबारे इप्रका पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले अदालतबाट पक्राउ पुर्जी आए मात्रै पक्राउ गर्ने बताए । 

पीडित थप पीडित

घटनालगत्तै आगजनी गर्न खोज्ने सासूबुहारीलाई नै प्रहरीले नियन्त्रणमा लिए पनि साँझ सम्मानसहित घरमै छाडेको थियो । स्थानीय दोर्ण पौडेलले बारम्बार प्रहरी कार्यालयमा पुगेर उजुरी दर्ता गर्दासमेत प्रहरीले उजुरी नलिएको बताए ।

उनले हालसम्म जेसिबीको क्षतिपूर्तिको माग २ लाख गरिएको छ । नगर, वडादेखि गाउँले सबै पीडित बनेर इलाका आउँदासमेत उजुरी नलिने प्रशासनले भोलि के गर्ला भन्ने प्रश्न उनीहरूको छ ।

इलाकामा वैशाख ४ गते नै उजुरी दिएको वडासदस्य रेवतबहादुर बस्नेतले बताए तर, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्काले उजुरी नै नआएको बताए ।

घटना मिलाउनका लागि डिएसपी आफै छलफल गर्न लगाउने, आगजनी गर्ने महिलासँग मिलापत्र गर्न आफ्नै कार्यकक्षमा छलफल गरेका खड्काले उजुरी पनि दर्ता नगर्ने र क्षतिपूर्ति पनि तिराउन नसकेपछि स्थानीय सरकार नै आश्चर्यमा परेको छ ।

विवाद यस्तो थियो

नगरको रजत जयन्ती मार्गबाट बक्राहा घाट र महाराजथान जाने बाटो सरकारी नक्सामा छ । सो बाटो सञ्चालनका लागि पटक–पटक गाउँमै छलफल गर्दा निचोड ननिस्केपछि स्थानीय जोगिराम धिमालसहित २२ जनाले नगरको न्यायिक समितिमा उजुरी दिए । 

सो उजुरीका विषयमा न्यायिक समितिका संयोजक तथा उपमेयर यामुना विष्ट बास्तोलाको टिमले सरकारी बाटोको भोग चलन पद्मादेवी उप्रेतीले गरिरहेको पाइएकाले अब उप्रान्त सो बाटो स्थानीयले सरकारी बाटो खोली चलन चल्तीमा ल्याउनू भन्ने आदेश गर्याे ।

२०७७ फागुन १६ गते न्यायिक समितिको आदेश आएपछि वडाध्यक्ष, प्रहरी प्रशासन र स्थनीयको उपस्थितिमा बाटो खोल्ने क्रममा आरोपित सासूबुहारीले आगजनी, तोडफोड गरेका थिए ।