देउराली । केराबारीमा शिकार खेल्न गएका ३ जना मध्ये एक जनाको गाेली  लागी मृत्यु भएपछि २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा केराबारी गाउँपालिका ३ का  ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका आनुसार गत बुधबार बिहान करिब ९ बजे तीनै जना बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलतर्फ शिकार खेल्न गएकामा हस्तबहादुरको दाहिने कुममा गोली लागी मृत्यु भएको छ ।

घटनाको जानकारी पाएसंगै घटना स्थल पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । 

कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सोही राती करिब ९ बजे शिकार खेल्न क्रममा गजेन्द्रले चलाएको गोली  हस्तबहादुरको दाहिने कुममा लागेको खुलेको छ । घटनास्थलबाट एक थान भरुवा बन्दुक समेत बरामद भएको कार्यालयले जनाएको छ । 

बिहीबार दिउँसो ४ बजे पक्राउ परेको राई र लिम्बूलाई ज्यान सम्बन्धि कसूर र हातहतियार तथा खरखजना कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताएका छन् ।