इटहरी। इटहरीमा आर्थिक अपराधका घटना वृद्धि हुन थालेका छन ।
दैनिकजसो चेक बाउन्स, विदेश पठाइदिने नाममा ठगी, महँगो ब्याज तथा जग्गा बिक्रीका नाममा सर्वसाधारण ठगिने क्रम बढेको छ । अहिले इटहरीमा सबै भन्दा बढी चेक बाउन्स गरी ठगी गर्नेहरू सक्रिय हुन थालेका छन् ।
इटहरी–२० तरहराको हम्प्स लाइनमा ग्रील पसल सञ्चालन गर्दै आएका कुमार प्रधान स्थानीयसँग लाखौं ठगेर फरार भए । स्थानीयलाई विभिन्न बहाना बनाएर ठगी गरी प्रधान परिवार अहिले फरार भएको हो ।
स्थानीय खेम अधिकारीलाई ६५ लाखभन्दा बढी ठगेर प्रधान परिवारसहित फरार भएका छन् । अधिकारीले ठगी मुद्दामा इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्तासमेत गरेका छन् । अधिकारीलाई बैङ्कमा पैसा हाल्न लगाएर ६५ लाख लिई प्रधान फरार छन् । उनले अरूको पनि पैसा ठगी गरेको पाइएको छ ।

केही वर्षयता इटहरीमा ठूला आर्थिक अपराध बढ्दो क्रममा छ । इटहरीभित्र धेरैजसो ठगी तथा बैङ्किङ कसुरका मुद्दा बढी भएको इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरालमा इटहरीमा २५ वटा ठगीका घटना भएका छन् । जसमा बैङ्किङ कसुरका मात्रै १७ वटा र ठगीका ८ वटा उजुरी परेका छन् ।
प्रहरीले चेक बाउन्स र ठगीका मुद्दा हेर्न थालेपछि चेक बाउन्सको मुद्दा प्रहरीमा पुग्न थालेको छ । ‘चेकमा आर्थिक कारोबार गर्छन् बैङ्कमा पैसा झिक्न जाँदा पैसा हुँदैन र चेक बाउन्स हुन्छ । विश्वासमा परेर चेकको कारोबार गर्दा धेरै ठगिएका छन्’ –इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने । उनी ठगीका घटना अनुसन्धान गर्न धेरै जटिल रहेको बताउँछन् ।
पछिल्ला केही वर्षयता इटहरी क्षेत्रमा आर्थिक अपराध बढ्दै गएको प्रहरीको निष्कर्ष छ । जग्गा कारोबारीदेखि सबै कारोबार चेकमार्फत् हुने र पछि विवाद हुँदा मुद्दा पर्ने गरेको प्रहरीको अध्ययनले देखाउँछ । कतिपयले पैसा नदिने नियतले चेक दिएर झुलाउने गरेको डिएसपी केसी बताउँछन् । आर्थिक अपराध नियन्त्रणमा समेत लागिपरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीका विभिन्न क्षेत्रमा सुन पसल सञ्चालकहरूले समेत करोडौं रुपैयाँ डुबाएका छन् । ब्याजको लोभमा सुन पसलमा पैसा राख्नेहरूको कन्तविजोक हुन पुगेको छ । इटहरीमा एक वर्षको अवधिमा २ सय ७८ अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
गत २०७७ वैशाखदेखि २०७७ चैत्र मसान्तसम्म २ सय ७८ वटा आपराधिक घटना भएको प्रहरीले बताएको छ । आर्थिक बाहेकका अन्य अपराध भने घट्दै गएको प्रहरी दाबी गर्छ । अहिले इटहरी यौनधन्दामा भने सुध्रिएको छ । अहिले पनि प्रहरीले यौनधन्दा गर्नेहरूलाई निगरानीमा राख्दै आएको इटहरी प्रहरी बताउँछ ।
यौन विकृतिले नकारात्मक सन्देश दिँदै आएको इटहरीमा बेला–बेला अहिले पनि इटहरीका होटल तथा लजहरूमा प्रहरीले सर्च अभियान गर्ने गरेको छ । त्यस्तै गुण्डागर्दीलगायतका अन्य अपराधमा भने सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।