इनरुवा। इनरुवामा सञ्चालन गर्न लागिएको कोभिड अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।
एक साता अघि नै कोभिड अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिइए पनि अझैसम्म सञ्चालनमा आउन नसकेको हो ।
२० बेड क्षमताको अस्पताल इनरुवा नगरपालिकासँगको समन्वयमा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार अक्सिजन जडान गर्ने जनशक्ति अभावमा सेवा सञ्चालनमा ढिलाइ भएको हो ।
प्रसाईंले बताए अनुसार सुनसरीमा अक्सिजन जडान गर्ने व्यक्ति नभेटिएकाले मोरङबाट झिकाइएकोमा आउँछु भनेर झुट बोल्दै टारेकाले ढिलाइ हुन पुगेको हो ।

प्रदेश सरकारले समेत उक्त अस्पताल सञ्चालनका लागि २० लाख रकम उपलब्ध गराउने बताएको छ । हप्तादिन अगावै सञ्चालनमा ल्याउने गरी थालिएको तयारी अन्तिम समयमा पूरा हुन नसक्दा कोभिड अस्पतालको सेवा सुरु हुन नसकेको बताइएको छ ।
इमर्जेन्सी कक्षमा सञ्चालन गर्न लागिएकोे कोभिड सेवाका लागि बेड राखिसकिएको छ । अक्सिजन जडानको कार्य समयमै हुन नसक्दा सेवा सुचारु हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रमुख प्रसाईंले अब भने विकल्प खोज्नेतर्फ लागिपरेको बताए । यता स्थानीयले भने तयारी अन्तिम चरणमा पुगेको र प्रदेशका मन्त्रीलगायतको टोलीले अनुगमन गरिसक्दा समेत कोभिड अस्पताल सञ्चालनमा ढिलाइ हुनु लापरबाही भएको बताएका छन् ।
उनीहरूले विषम परिस्थितिमा अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन ढिलाइ गर्ने निकाय र व्यक्तिउपर कारबाही हुनुपर्ने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोभिड अस्पताल छिटो सञ्चालन गर्ने गरी निर्देशन दिइएको बताए ।
के र किन अनि कसका कारण ढिलाइ भएको हो, त्यस विषयमा छानबिन गरिने समेत बताए । ढकालले महामारीका बीच कोभिड अस्पताल छिटो सञ्चालनमा ल्याइनु आवश्यक रहेको बताए ।