विराटनगर/ महामारीको रूपमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम बढिरहेका बेला प्रदेश १ को राजधानी विराटनगरमा नक्कली र मापदण्ड विपरीतका सेनिटाइजर भेट्न थालिएको छ । 

मानव स्वास्थ्य र छालामा असर गर्ने नक्कली र मापदण्ड विपरीतका सेनिटाइजर बजारमा भेटिन थालेको हो । पछिल्लो समय आफूखुसी उद्योग खोलेर सेनिटाइजर उत्पादन गर्दै बजारमा ल्याउने क्रम बढेपछि औषधि व्यवस्था विभागले अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ ।

कोरोना भाइरस नष्ट गर्ने भन्दै मापदण्ड पूरा नगरी जथाभावी उत्पादन भइरहेका सेनिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने भन्दै विभागले प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ ।

विराटनगर महानगरपालिको नेतृत्वमा सोमबार विराटनगरका औषधि पसलहरूमा गरिएको अनुगमनको क्रममा नक्कली र मापदण्ड विपरीतका सेनिटाइजहरू भेटिएको हो । निशिका अग्रवालले विराटनगरमा सञ्चालन गरेको श्री सर्जिकलबाट मापदण्ड विपरीतका सेनिटाइजर जफत गरिएको छ ।

‘प्रुलिम’ ब्राण्डको सेनिटाइजरमा अल्कोहलको मात्रा बढी देखिएकोले विभागले नमुना परीक्षणको लागि प्रयोगशालामा पठाएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए । साही फार्मेसीमा अनुगमनको क्रममा लेवल नभएको मास्क बिक्री वितरण गरेको पाइएपछि ३ हजार थान मास्क बरामद गरिएको छ । 

यस्तै विराटनगरको अटल फार्मेसीमा पनि अनुगमन गरियो । उक्त फार्मेसीमा आयुर्वेदिक औषधिको इजाजत नलिई औषधि बिक्री वितरण गरेको भेटिएको थियो । यहाँका थोक र खुद्रा मेडिकलमा अनुगमन गरिएको थियो । कोभिड महामारीमा स्वास्थ्य सामग्रीको कालोबजारी र गुणस्तरहीन सामग्री बिक्री वितरण रोक्न अनुगमनलाई तीव्रता दिइने विभागका प्रमुख कट्टेलले बताए ।

कतिपय फार्मेसीमा जनशक्ति पनि पर्याप्त नदेखिएकोले सुधार गर्न निर्देशन दिएको उनको भनाइ छ । अनुगमनमा विराटनगर महानगरपालिकाका उप्रमुख इन्दिरा कार्की, स्वास्थ्य महाशाखाका स्वास्थ्यकर्मी, विभागका प्रमुख कट्टेललगायतको सहभागिता थियो । सङ्क्रमण तीव्र रूपमा फैलिएको कारण स्वास्थ्य सामग्रीको प्रयोग बढ्न थालेपछि कालोबजारी हुन निदन औषधि व्यवस्था विभागले केही दिनयता अनुगमनलाई तीव्रता दिएको छ ।

केही दिनअघि झापाको दमक–४ मा बिना अनुमति निश्चल केमिकल वर्क नाम दिएर उत्पादन गरेको नक्कली सेनिटाइजर भेटिएको थियो । लक्ष्मीप्रसाद राईले सञ्चालन गरेको निश्चल फार्मेसीबाट बरामद भए पनि उत्पादन गर्ने कम्पनी कहाँ छ र कसरी सञ्चालन भइरहेको छ भन्ने पत्ता लागिनसकेकाले खोजी थालिएको छ ।

आफूखुसी उत्पादन गरिएको सेनिटाइजरमा हानिकारक मिथाइल अल्कोहल ६५ प्रतिशत प्रयोग गरेको पाइएको कट्टेलले बताए । मानव स्वास्थ्यका साथै छालामा निकै लामो समयसम्म असर गर्ने भएकाले मिथाइल अल्कोहल मिसाएर बनाइएको सेनिटाइजर प्रयोग गर्न निमल्ने उनले बताए । ‘सेनिटाइजर बनाउँदा ७० देखि ८० प्रतिशतसम्म इथानोल वा आइसोप्रोपायल अल्कोहलको मिश्रण हुनुपर्छ’ उनले भने, ‘अरू वस्तु मिसाएर बनाइएमा प्रयोग गर्नु निकै खतरापूर्ण हुन्छ ।’

उत्पादकलाई सबै आधिकारिक कागजपत्र लिएर विभागमा उपस्थितिका लागि सूचना जारी गरिएको उनको भनाइ छ । उनका अनुसार फर्मेसी सञ्चालक राईले भने आफूलाई सेनिटाइजर उत्पादक थाहा नभएको र बिक्री गरिदिनू भनेर ल्याएपछि आफूले राखिदिएको मात्रै बताएका छन् । विभागका प्रमुख कट्टेलले नक्कली र हानिकारक सेनिटाइजर कतिले खरिद गरेर लगे तथा प्रयोग गरे भन्ने यकिन तथ्याङ्क नभएकाले यस विषयमा पनि खोजी थालिएको जानकारी दिए । 

यसअघि औषधि विभाग, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले विराटनगरको मञ्जरी आयुर्वेदिक औषधि उद्योगलाई सेनिटाइजर उत्पादनमा रोक लगाएको थियो ।

दर्ता नगरी  साथै विभागलाई थाहै नदिई आफूखुसी सेनिटाइजर उत्पादन गरिरहेको पाइएपछि रोक लगाउँदै गुणस्तरहीन एवम् प्रयोग गर्न अयोग्य सामग्री बनाए बापत उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत ५० हजार रुपैयाँ जरिबाना पनि गरिएको कट्टेलले बताए ।  

त्यस्तै सुनसरीको इहटरी–४ मा सौर्य केमिकल प्रालिले पनि सौर्य ह्याण्ड नामक गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिरहेको यसअघि पत्ता लागेको थियो ।

घरमाथि ग्लिसरिनको बट्टामा घरेलु मदिरा प्रयोग गर्दै अवैध ढङ्गले सेनिटाइजर बनाएर बजारमा बिक्रीका लागि लैजाने गरेको पाइएपछि प्रालिका सञ्चालक अतित गुरागाईं र अमरजित गोश्वामीलाई प्रहरीले पक्राउ गरेको थियो ।

२५ दिन हिरासतमा राख्दै प्रहरीले कालोबजारी ऐन अन्तर्गत चलाएको मुद्दामा उनीहरू अदालतले मागेको दुई–दुई लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटिसकेका छन् । विभाग प्रमुख कट्टेलले नक्कली सेनिटाइजर उत्पादन गर्दै आएका विभिन्न आधा दर्जन अवैध प्रालि र कम्पनीलाई कारबाही गर्दै उत्पादनमा रोक लगाई बन्द गरिसकिएको जानकारी दिए ।