विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६२ शैय्याको कोभिड अस्पताल सुरू भएको छ । कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार पाउन छोडेपछि कोशीले कोभिड अस्पताल संचालनमा ल्याएको हो ।
संचालनमा आएको कोभिड अस्पतालमा ५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जेनेरल बेड रहेको अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।
पोस्मेटल वार्डमा अक्सिजनसहितको जेनेरल वाड छ भने दोस्रो तला मेडिकल वाडमा एचडीयू र अक्सिजनसहितको भेन्टिलेर रहेको मेसु दासले बताए ।
कोभिड अस्पताल बिहीबारदेखि संचालनमा आएको पहिलो दिन ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ३ जना संक्रमितको आइसीयूमा र अन्य ३ जना एचडीयूमा राखेर उपचार सुरू गरिएको मेसु दासले जानकारी दिए ।

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्दै आएका छन् । ‘ अहिले कोशीमा भएका स्वास्थ्यकर्मीहरुले उपचार गर्नेछन्,’ उनले भने, ‘जनशक्ति अपुग भए थप गरेर संक्रमितको उपचार गरिनेछ ।’
कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने विरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल भित्र छुट्टै कोभिड अस्पताल संचालन गरेको हो । अहिले प्रदेश १ मा दैनिक थपिएको संक्रमित मध्ये आधा भन्दा बढी मोरङको रहेका छन् । त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् ।