संखुवासभा । जिल्लामा कोरोना संक्रमण भएका २ जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो जिल्ला अस्पताल खाँदबारीको आइसोलसनका एकको ज्यान गएको हो भने बुधबार विराटनगरमा पठाइएका बिरामीको पनि शुक्रबार नै ज्यान गएको हो ।
ज्यान जानेमा तुम्लिङटार आइसोलेशनमा रहेका सिलिचोङ गाउँपालिका ३ घर भई हाल खाँदबारी बसोबास गर्दै आएका ७० वर्षीय वृद्धको मृत्यु भएको परिवारले जनाएको छ । विराटनगरमा उपचारको क्रममा खाँदबारी १ का एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
हालसम्म संखुवासभामा कोरोना संक्रमितको संख्या ४ सय ९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए । जिल्लामा संस्थागत आइसोलेशनमा ५८ जना र होम आइसोलेशनमा २७४ जना संक्रमित रहेका छन् भने उपचारपछि निको भएर १ सय ३७ जना घर फर्किसकेका छन् ।