पथरीशनिश्चरे ।   मोरङको पथरी शनिश्चरेका ४ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्पति विद्यादेवी

भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कार्यको विरोध जनाएका छन् ।

 नेपाली कांग्रेसका नगर सभापति टेकबहादुर थापा, एमाले माधव नेपाल समूहका टंक भण्डारी, माओवादी केन्द्रका नगर अध्यक्ष चेतन दहाल र जनता समाजवादी पार्टीकी प्रदेश सदस्य तारा दवाडीले संयुक्त विज्ञप्तिमा हस्ताक्षरण गरेका छन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा, राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम अलोकतान्त्रिक भएको र सो नसच्चिए राजनीतिक प्रतिरोधको चेतावनी दिइएको छ ।

संविधानको धारा ७५ (५) अनुसार बहुमत प्रतिनिधि सभा सदस्य रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गरी राजनीतिक संकटको अन्त्य गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

 यस अघि मोरङको कानेपोखरी गाउँपालिकामा क्रियाशील पाँचवटा पार्टीले पनि यसैगरी प्रधानमन्त्री ओलीको कदम नसच्चिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसहितको विज्ञप्ति प्रकाशन गरेको थियो ।