धरान । धरान उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोप खरिदका लागि स्वीकृति माग गरेको छ ।
धरान उपमहानगरका प्रमुख तिलक राईले आइतबार मन्त्रालयसँग खोप स्वीकृतिका लागि माग गरेका हुन् । प्रमुख राईले १८ वर्ष माथिका एक ला नागरिकलाई नगरले आफ्नै स्रोतमा खोप खरिद गर्ने पत्रमा जनाएको छ । पत्रानुसार दुई लाख डोज खोपको माग गरिएको छ ।
नागरिकलाई कोरोनाबाट रोकथाम र नियन्त्रण गर्नका लागि खोप एकमात्रै विकल्प रहेको जनाएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय विराटनगरमा बोधार्थ दिएका छन् ।

धरानमा २०६८ को जनगणना अनुसार १ लाख ३७ हजार जनसंख्या रहेका छन् । स्वीकृति प्रदान भएमा धरानका नागरिकले उपमहानगरबाटै खोप प्राप्त गर्नेछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण धरानमा हालसम्म १ हजार ६८६ जनामा संक्रमित भइसकेका छन् भने दोस्रो लहरपश्चात् ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
पहिलो लहरमा ७६ जनाले ज्यान गुमाएका थिए । धरानमा हाल सक्रिय संक्रमितको संख्या ५७० रहेको नगर प्रमुख राईका प्रेस संयोजक पारस राईले जानकारी दिए ।