विजयपुर/ धरान– १५ को अस्थाई चौकीमा आक्रमण गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।
जेठ–१३ गते धरान–१५ को अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने समूहका ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान–४ का २६ बर्षीय युवा, धरान–३ का २७ बर्षीय युवा र धरान–५ का २४ बर्षीय युवा रहेको प्रहरी स्रोतले बताएको छ ।
उनीहरुलाई धरानबाटै लुकेर बसेको अवस्थामा पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरेको स्रोतले बताए । चौकीमा आक्रमण गरि भागेपछि केही समय अगाडि नै अभियुक्त एक जना पक्राउ परेका थिए ।
हाल ३ जना पक्राउ परेपनि अनुसन्धानका लागि भन्दै प्रहरीले सार्वजनिक गरेको छैन । ३ जना पक्राउ परेपनि अन्य ४ जना अझै पक्राउ गर्न बाँकी रहेकाले सार्वजनिक नगरेको स्रोतको भनाइ छ ।

जेठ–१३ गते साझमा हतियारसहित आएको युवा समूहले चौकीमा आक्रमण गरेको थियो । आक्रमणबाट चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहालसहित अन्य २ प्रहरी घाइते भएका थिए ।
चौकीमा २ जना युवा आफ्नो ज्यान जोगाउन भागेर आएका थिए । ज्यान बचाउन आएका २ युवालाई सोधबुझ गर्दै गर्दा उनीहरुले चौकीमा आक्रमण गरेका थिए । उनीहरुलाई अदालतबाट ज्यान मार्ने उधोग मुद्दामा म्यादथप गरि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।