धरान । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फाइनकेयर ३ प्लस’ नामक मेसिन प्रदान गरेको छ ।
कोभिड भएका बिरामीको डिडाइमर, सीआरपी, पीसीटी, आइएल सिक्सलगायतको जाँच गर्दछ । त्यस्तै कोभिडबाट ठीक भएर घर फर्किएका बिरामी पूर्णरुपमा ठीक भए नभएको पनि पत्ता लगाउने जनाइएको छ । यस मेसिनको मूल्य ८ देखि ९ लाख रुपैयाँ पर्ने जनाइएको छ ।
यस मेसिन हाल काठमाडौंस्थित गंगालाल अस्पताल, विराटनगरस्थित कोशी अस्पतालमा रहेको थियो । अब भने बीपीबाट पनि बिरामीले यसखाल्को सेवा पाउने भएका छन् । काठमाडौंस्थित बीएसआर बायो टेक लैनचौरको सहयोगमा लायन्सले हस्तान्तरण गरेको हो । बायोटेकका निर्देशक दीपेश भण्डारीले महामारीको बेला अन्य स्थानमा पनि यस खाल्को मेसिन पुर्याउन सके उपचारमा सहज हुने बताए ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राप्त मेसिनलाई सही काममा सदुपयोग गर्ने बताए । लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवालको संयोजनमा भएको कार्यक्रममा लिडर धीरज गुरुङलगायतले सामग्री हस्तान्तरण गरे ।