विजयपुर । आमाको किरियामा बस्दा एक छाक खान पनि समस्या भएका धरान–१६ नौलो बस्तीका एकबहादुर विश्वकर्मालाई याक्थुङ सिङ्गक फाउण्डेशनले सहयोग गरेको छ ।
फाउण्डेशनका अध्यक्ष मीना सिङ्गकले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् । ५९ वर्षीय विश्वकर्मालाई आर्थिक अभावका कारणले आमाको मृत्यु संस्कार गर्न पनि समस्या भएको थियो ।
जूठोमा खानेकुरा नभई समस्यामा परेपछि उनले वडाध्यक्ष दिलकुमार गिरीलाई सम्पर्क गरे । अध्यक्ष गिरीले उक्त कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।
सोही कारण अहिले उनलाई सहयोग जुट्न थालेको छ । उनलाई अहिले विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरिरहेका छन् । विश्वकर्माले अहिले खाद्य सामग्री र आर्थिक सहयोग आइरहेको बताए ।
फाउण्डेशनले उनलाई ५ हजार दिएपछि ११ हजार आर्थिक नगद आर्थिक सहयोग भएको छ । विश्वकर्माले एउटा आँखा देख्दैनन् । उनका तीन छोरामध्ये साथमा एक जना छन् । उनको पनि केही इलम छैन । पत्नी इन्द्रकुमारीसहित अहिले चार जनाको परिवार छ । उनी निर्माण उद्योगमा मजदुरी गर्दै आएका थिए ।