उदयपुरको बेलका नगरपालिकाको आठौं नगर सभाले आर्थिक वर्ष २०७८/०७९ को अनुमानित बजेट ६९ करोड ७६ लाख ४५ हजार प्रस्तुत गरेको छ ।

नगर प्रमुख दुर्गाकुमार थापाले नगरसभामा प्रस्तुत गरेको अनुमानित बजेटले ९ वटा वडालाई पुँजीगततर्फ ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गौरवका आयोजनाहरुमा ४ करोड ४० लाख ५० हजार विनियोजन गर्दै नगर सभाले नगरको प्रशासकीय भवन, फोहोर व्यवस्थापना तथा उद्यान निर्माण, आधारभूत अस्पताल निर्माण, खानेपानी, पर्यटन, सडक स्तरोन्नति, शिक्षा, वन वातावरण तथा कृषि क्षेत्रलाई नगरको गौरवका योजनासहित मुख्य प्राथमिकतामा राखेको छ । 

सामाजिक विकासतर्फ ५ करोड ४६ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ७ दशमलव ८३ प्रतिशत हो । पूर्वाधार भौतिक विकासमा १ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

कार्यालय संचालन तथा प्रशासनिक (नगर वडा) तर्फ ८ करोड ८५ लाख ५० हजार रुपैयाँ, वातावरण तथा विपदु व्यवस्थापन तर्फ ४० लाख रुपैयाँ, सुशासन तर्फ १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

समपुरक तथा साझेदारी कार्यक्रम तर्फ २ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 

आठौं नगरसभाले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षभन्दा ४ करोड कम हो । चालु आर्थिक वर्षमा नगरले ७३ करोड बढीको बजेट विनियोजन गरेको थियो । आन्तरिक स्रोतको आम्दानी कमी भएको कारण आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कमी आएको नगरप्रमुख दुर्गा कुमार थापाले प्रतिक्रिया दिए ।