सुनसरी। सुनसरीको कोशी गाउँपालिका–५ स्थित बालुवामय जग्गामा किसानले लगाएको ‘नमुना कागती खेती’ बाट चोरले कागती टिपेर लगेका छन् ।

राजस्थान मोडेल खेतीको नामले समेत चर्चा पाएको स्थानीय किसान अस्गर अली र साहबुद्दिन आलमले कोशी गाउँपालिका–५ स्थित कुम्याहीमा तीन बिघा जग्गामा लगाएको कागती चोरले राति टिपेर लगेको स्थानीयले जानकारी दिए ।

२०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएपछि यहाँका जनप्रतिनिधिको पहलमा बालुवामय जग्गामा थालिएको राजस्थान मोडेल खेती प्रभावित बनेको अवस्थामा चोरले खेतबाटै कागती चोरेर लगेपछि किसान निराश भएका छन् ।

‘पानी परेको कारण तयारी अवस्थामा रहेको कागती टिप्न एक–दुई दिन ढिला भयो’ किसान अस्गर अलीले निराश हुँदै भने, ‘पानी रोकिएपछि शनिबार टिपेर बजार बेच्न लाने सोचेको थिएँ । तर, शुक्रबार राति नै चोरले सबै कागती टिपेर लगे । लगानीसँगै हाम्रो दुई वर्षको मेहनत सार्थक हुन सकेन ।’ उनीहरूले घटनालगत्तै स्थानीय प्रहरी, जनप्रतिनिधि तथा सरोकारवालालाई खबर गरे पनि कागती चोरको बारेमा पत्ता लागेको छैन ।

‘किसानलाई बालुवामय जग्गामा कागती हुन्छ कि हुँदैन भन्ने थियो’ कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले भने, ‘तर, निरन्तर किसानको मेहनतले कागती उत्पादन गर्न सफल भए पनि फल खाने बेलामा उनीहरूमाथि कुठाराघात भयो । यसबारे स्थानीय प्रहरीसँग हामी समन्वय गरेर घटनाबारे विस्तृत रूपमा बुझ्न गम्भीरतापूर्वक लागेका छौं ।’

अध्यक्ष अन्सारीले गाउँपालिकामा राजस्थान मोडेल खेती प्रभावित भएको बताउँदै कृषि आधुनिकीकरण योजना प्रभावकारी बनेको बेला अन्य किसानहरूसमेत कागती खेतीतर्फ आकर्षित भइरहँदा चोरी घटनाले नकारात्मक प्रभाव पारेको बताए ।

‘हजारौं किसान बाढीले प्रभावित भएकोमा हालसम्म पूर्वअवस्थामा फर्कन सङ्घर्षरत छन्’ उनले भने, ‘कोशी गाउँपालिका क्षेत्रका किसानको जीवनस्तर उकास्न हामी प्रयासरत रहँदा यस्ता घटनाले दुःखी बनाएको छ ।’

कोशी गाउँपालिकाले किसानलाई पूर्वअवस्थामा फर्काउन तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्न लागेको बताउँदै अध्यक्ष अन्सारीले यसमा किसानसँगै सर्वसाधारणको सहयोग आवश्यक रहेको बताए ।

‘कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणसँगै गरिब र निमुखा जनताको जीवनस्तर उकास्न हामीले कागती खेतीको  अवधारणा अघि ल्याएका हौं’ उनले भने, ‘यसलाई कार्यान्वयन गराउन जनप्रतिनिधिले मात्र सम्भव छैन, सबै पक्षको साथ र सहकार्यको अपेक्षा छ ।’

बालुवामय जग्गा सदुपयोग गर्ने उद्देश्यले गरिएको राजस्थान अवलोकन भ्रमणपछि सोहीअनुसार कागती खेती गरेकोमा बेच्ने बेलामा दुईदेखि अढाई लाख बराबरको कागती चोरले टिपेर लगेको किसान अस्गर अलीले गुनासो गरे ।

भारत राजस्थानका कृषिविज्ञहरूले दिएको सुझावअनुसार कम लगानीमा कागती खेती गर्न सके कोशी क्षेत्रका किसानको जीवनस्तर उकास्न सहज हुने बताउँदै गाउँपालिका अध्यक्ष अन्सारीले कोशी क्षेत्रमा कागती खेती प्राथमिकतामा राख्दै किसानलाई जागरुक बनाउने, जग्गाको घेराबारा गर्ने, जनावर आतङ्क रोक्ने योजना रहेको बताए ।