विजयपुर । धरान–१५ को गणतन्त्रबस्तीमा लामो समयदेखि बसोबास गर्दै आएका तर आफ्नो नाममा जमिन नभएका कमानसिंह राई र विवश लिम्बू साउन १४ देखि जग्गाको धनी बने अर्थात् उनीहरूको नाममा जग्गाको लालपुर्जा बन्यो ।

उनीहरू लामो समयदेखि भूमिहीनको रूपमा बस्दै आएका थिए । आफूसँग जग्गा जमिन नभएपछि उनीहरू सेउती खोला बगरछेउछाउको खाली जमिनमा घर बनाएर बसे । तर, उनीहरूले ऐलानी जग्गा भन्ने सोचेर घर बनाएको स्थान अर्कैको नाममा दर्ता भएको जग्गा रहेछ । सो कुरा थाहा भएपछि अझ समस्या थपियो । यस्तो समस्या उनीहरूको मात्रै होइन, अरू पनि धेरैको छ ।

कमानसिंह र विवशले साउन १९ गते आफू बसोबास गरेको जग्गाको प्रमाण–पत्र अर्थात् लालपुर्जा हातमा पाए । त्यसपछि उनीजस्ता अन्यको पनि आशा पलाएको छ । साउन १९ गते जग्गाधनी राजकुमार कार्कीले सुकुम्बासीको रूपमा लिम्बूलाई ९ धुर र राईलाई ६ धुर जग्गाको लालपुर्जा एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरे । जग्गादाता कार्कीले २ जनालाई जग्गाको कित्ताकाट गरेर पुर्जा हस्तान्तरण गरे भने अन्य धेरैलाई गर्न बाँकी रहेको बताएका छन् । ‘विभिन्न समस्याबीच जग्गाको लालपुर्जा दिएँ, अब सहजरूपमा गर्न पाइनँ र आफूलाई कसैले दबाव दिए भने गर्दिनँ, त्यो मेरो पनि अधिकार हो’–उनले भने ।

आफ्नो जग्गामा बस्ने सुकुम्बासीलाई जग्गा दिन पनि धेरै समस्या भएको जग्गाधनी कार्कीले बताए । उनको कतिपय सहजीकरण गर्ने संस्थाका व्यक्तिहरू नै बाधक बन्ने गरेको पनि अनुभव छ । उनले सहजीकरणका लागि बनेको धरान उपमहानगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास तथा सुकुम्बासी संरक्षण समितिका केही व्यक्तिले समस्या समाधानभन्दा पनि बाधक बन्ने गरेको आरोप लगाए । आफ्नो जग्गा सुकुम्बासीलाई दिन खोज्दा पनि समितिका पदाधिकारीहरूले नै अवरोध गर्न खोजेको उनको आरोप छ ।

जग्गाको धनीपुर्जा हस्तान्तरण कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमले जग्गाधनीले बसोबास गर्नेलाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गर्नु ऐतिहासिक कार्य भएको बताए । कार्यक्रममा समितिका सह–संयोजक हरिबहादुर कार्की, नेपाल अव्यवस्थित बसोबास बस्ती संरक्षण समाजका गणतन्त्र बस्ती इकाई समिति अध्यक्ष बालकुमार लकार्इंलगायतको उपस्थिति रहेको जग्गा पहल समितिका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।