यासोक । पछिल्लो समय कला, संस्कृति र पहिचानको संरक्षण गर्न थालिएको छ । अधिकार सम्पन्न स्थानीय तहहरूले गाउँघरमा रहेका कला, संस्कृति र पहिचानको संरक्षण गर्न थालेका छन् ।
पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा पनि विभिन्न स्तम्भ निर्माण गरी प्राचीन सभ्यताको संरक्षण गर्न थालिएको छ । कुम्मायक–३ स्थित हात्तीपोखरीमा केही दिनअघि मात्रै पूर्णकदको हात्तीको मूर्ति राखिएको छ । स्थानीय पोखरीको जीर्णोद्धार गरी वडाले ८ फिट उचाइ र १० फिट चौडाइको हात्तीको मूर्ति स्थापना गरेको हो । वडाको ४ लाख बजेटबाट उक्त मूर्ति निर्माण गरी पोखरीको बीचमा राखिएको हो ।
वि.सं. १९२५ सालमा उक्त पोखरीभरि पानी भएको र त्यही पोखरीको पानी खान र नुहाउन हात्तीको बथान आउने तथा बास बस्ने गरेको जनविश्वास रहेको वडाध्यक्ष रामप्रसाद गजुरेल बताउँछन् । उनी भन्छन्, ‘पहिला–पहिला मानिसको आवादी कम थियो । दिनभरि जङ्गलमा हात्तीहरू चरनमा निस्कने र बेलुका भएपछि पोखरीमा नुहाउन आउने गर्थे ।’
क्रमशः मानिसहरूको आवादी बढ्दै गएपछि पोखरी मासिएको र हात्तीहरूलाई मानिसले लखेटेका कारण त्यहाँबाट हात्तीहरू पलायन भएको उनको भनाइ छ । स्थानीय तहको स्थापनासँगै वडाले मासिनै लागेको पोखरी संरक्षण गरी धार्मिक जनविश्वासको आधारमा पोखरीमा हात्तीको मूर्ति स्थापना गरिएको वडा कार्यालयले जनाएको छ ।