विराटनगर । मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीका सवारी चालक र अङ्गरक्षक पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सवारी ज्यान मुद्दामा अभियुक्त सिराह लक्ष्मीपुर पतार गाउँपालिका– २ घर भई विराटनगरमा बस्दै आएका ३७ वर्षीय विन्दुकुमार सिंह र सुनसरीको भोक्राहा–७ का ३८ वर्षीय श्रवणकुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालतको आदेशपछि पक्राउ परेका दुवै प्रतिवादी मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए ।  सिंह न्यायाधीश पराजुलीका अङ्गरक्षक हुन् भने यादव सवारी चालक हुन् ।

सिंहले भदौ २२ गते  साढे ४ बजे न्यायाधीश पराजुली चढ्ने बा.१४ च ६०१६ नं. को कार मोरङ अदालतभित्र चलाउन सिक्ने क्रममा अनियन्त्रित भएर  लक्ष्मी दाहालको मृत्यु भएको थियो । दाहाल अदालतभित्र क्याण्टिन चलाएर बस्दै आएकी थिइन् ।

खाजा खाँदै गरकी दाहाललाई अङ्गरक्षक सिंहले सिक्ने क्रममा चलाउँदा अनियन्त्रित भई कार चमेना गृहभित्र छिरेको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहाललाई कोसी अस्पताल पु¥याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दाहालको मृत्यु भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरी सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत् मोरङ अदालतमा अभियोग दर्ता भएको थियो ।

सवारी चालक अनुमति–पत्र नभएका सिंहलाई श्रवणकुमार यादवले कार सिक्न चाबी दिएका थिए ।  यादवले कुनै पनि सावधानी अपनाउने कार्य नगरी सहयोगी भूमिका खेलेको पाइएपछि उनलाई पनि प्रतिवादी बनाएको थियो ।