विराटनगर । प्रदेश संसदहरुलाई नागरिकमैत्री बनाउन सके मात्र सङ्घीयता प्रभावकारी रूपले कार्यान्वयन हुनसक्ने एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।
संसदीय पत्रकार मञ्च प्रदेश १ ले बिहीबार आयोजना गरेको अन्तर्क्रियामा प्रदेश संसद्, पत्रकार र विज्ञहरूले आम नागरिकहरूका लागि खुला र पारदर्शी हुनुपर्ने र त्यसकालागि असल अभ्यासहरू बढाएर लानुपर्ने सुझाव दिएका हुन् ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तथा खुला सांसदका अभियन्ता तारानाथ दहलाले जननिगरानी बढ्न सके मात्र प्रदेश संसदहरु नागरिकमैत्री बन्न सक्ने बताए । ‘यसैले संसदमा नागरिकहरूको पहुँच सहज हुन आवश्यक छ ,’ उनले भने । संसदीय मामिलामा पत्रकारिताको लामो अनुभव समेत भोगिसकेका विज्ञ दहलाले संसदमा मिडियाको निगरानी भैरहेपनि अझै नागरिकहरूको निगरानी भने हुन नसको बताए । उनले अझै प्रदेशमा कानुन निर्माण गर्न विशेषज्ञहरूको रोष्टम बन्न नसकेको, परिसरहरू अझै नागरिकमैत्री बन्न बाँकी रहेको, गतिविधिहरू अझै रेडियो र टिभीबाट प्रसारण हुन नथालेको अनि संसद् र सांसदहरूले अझै सार्वजनिक सुनवाइ आयोजना गर्न नथालेको बताए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमले अन्य प्रदेशको तुलनामा एक नम्बर प्रदेशको संसद् मिडियामैत्री भए पनि नागरिकमैत्री बनाउन खुलापन अझै बढाएर लानुपर्नेमा जोड दिए । पत्रकार राजु अधिकारीले संसदमा बिषयत समितिहरूलाई पनि खुलापनमा लैजानुपर्ने सुझाए ।
मुख्य प्रतिपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदमा आम नागरिकहरूको सोझै प्रवेश गर्न दिने व्यावस्था गर्नु उचित हुने बताए । उनले असल संसद्को अनुभूति सांसद र सरकारका मन्त्रीहरूले मात्र नभएर आम नागरिकहरूले गर्न पाए मात्र नागरिकहरूको सर्वोच्च संस्था हुने बताए ।
जनता समाजवादी दलका नेता जयराम यादवले संसद्को गतिविधि इन्टरनेट मात्र नभएर रेडियो र टिभीहरूबाट प्रसारण गर्दा प्रभावकारी हुने बताए । सङ्घीय लोकतान्त्रिक मञ्चकी नेता विष्णु तुम्बाहाम्फेले मिडियाले पुरुष सांसद र ठुला दलहरूको मात्र कुरा नभएर सबैको समाचारहरू भाषा र जातीय समावेशिताको आधारमा सम्प्रेषण गर्नुपर्ने बताइन् । समाजिक विकास समिति सभापति सरिता थापाले असल संसद्को मुख्य आधार नै खुलापन हो भन्दै बिषयत समितिलाई अझै पारदर्शी बनाउन आफूहरू लागिपर्ने बताइन् ।
लेखा समिति सदस्य तथा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले सांसदहरूले नै मिनी संसद् ( समितिको बैठक) मा चासो नदिँदा असल अभ्यास हुन नसकेको बताए । लेखा समिति सदस्य तथा नेपाली काँग्रेसका सांसद लोकप्रसाद सङ्ग्रौलाले प्रदेश १ को संसद्लाई नागरिकमैत्री बनाउन अझै धेरै सुधार गर्नुपर्ने जोड दिए ।
अन्तर्क्रियामा उद्योग वतावरण तथा पर्यटन समिति सभापति सिता थेबे अनि लेखा समिति सभापति शिवनारायण गन्गाई, अर्थ समिति सदस्य पदमकुमारी गुरुङ लगायतको सहभागीता थियो । प्रदेश १ संसदमा खुलापनको अवस्थाबारे प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले प्रस्तुती गराएका थिए । संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्सालले संसद्लाई नागरिकमैत्री बनाउन आगामी दिनमा आफूहरूले सबैसँग क्रमश निरन्तर संवाद गर्दै जाने बताए ।
नागरिकमैत्री बनाउने सभामुखको प्रतिबद्धता
प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले सांसदको खुलापनका लागि पारदर्शी असल अभ्यास बढाएर नागरिकमैत्री बनाउन आफूहरू प्रतिबद्ध भएर लागिपर्ने बताए । उनले नागरिकहरूको सर्वोच्च संस्था भएकोले आम नागरिकहरूको पहुँच सुनिश्चित गर्न प्रदेश १ को संसद्को खुलापनको असल अभ्यासलाई अझै पारदर्शी बनाएर अगाडी बढ्ने बताए । प्रदेश १ संसद् अन्य प्रदेशको भन्दा खुला र नागरिकमैत्री रहेको सभामुख भण्डारीले दाबी गरे । उनले चार वर्षको अवधिमा कहिल्यै गलत नियत राखेर काम नगरेको र आफूले नै शून्य समयको अवधि एक बाट तीन मिनेट बनाउन लगाएको जानकारी गराए ।