विराटनगर ।  ‘प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट २०७८ शनिबारदेखि सुरू हुने भएको छ । 

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा मंसिर २५ देखि पुस ४ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । 

आयोजकले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागिता हुने जानकारी गराएको छ । नकाउटको आधारमा हुने प्रतियोगिताहरूमा प्याब्सन मोरङमा आवद्ध भएका विद्यालयहरूले भाग लिने फार्क क्लब रानीका अध्यक्ष धनकुमार लामाले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागी हुनेछ ।

यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकेडेमी, बुढीगंगाबाट जेभियर र यूनिक स्कुलको सहभागी हुनेछ । यसै गरी ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कुलसमेत गरी यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागी जनाउनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो रिपोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ  । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ । 

प्रतियोगिताको पहिलो दिन शनिबार दुई वटा खेल हुनेछ । पहिलो खेल गोदावारी र एजेलिया स्कुल बिच प्रतिस्पर्धा हुनेछ । सोही दिन दोस्रो खेल ग्रामथानको जनक र बुढीगंगाको जेवियर स्कुलबिच हुनेछ ।