विजयपुर । धरान र इटहरीका ठूला तथा साना करदाताहरूबाट ५० करोड रुपैयाँ बक्यौता रकम उठ्न बाँकी रहेको पाइएको छ ।

आन्तरिक राजस्व कार्यालयमा मूल्य अभिवृद्धि कर र आयकरको बक्यौता उठ्न बाँकी रहेको छ । कार्यालयले बारम्बार ताकेता गर्दा पनि करदाताहरूले बक्यौता भुक्तानी नगर्ने जनाएको छ । धरान र इटहरी  कार्यालय मातहातका करदाताहरूले कुल ४९ करोड ६३ लाख ८५ हजार ७ सय ७० रुपैयाँ बक्यौता रकम भुक्तानी नगरेको पाइएको हो ।

आन्तरिक राजस्व कार्यालय धरानमा आयकर भुक्तानी नगर्ने करदाता ९ सय २६ र मूल्य अभिवृद्धि कर भुक्तानी नगर्ने करदाता १ हजार ४ सय २६ जना रहेका छन् । आन्तरिक राजस्व कार्यालय धरान शाखाको कार्यक्षेत्रभित्रको कुल १५ करोड १२ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ आयकर भुक्तानी गर्न बाँकी रहेको छ ।

मूल्य अभिवृद्धि कर १८ करोड ५६ लाख ७५ हजार ८ सय १० रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको आन्तरिक राजस्व कार्यालय धरानका सूचना अधिकारी गोपाल राईले जानकारी दिए । उनले करदाताहरू सम्पर्कमा नरहेको र सम्पर्कमा रहेका करदतादाले भुक्तानी गर्नलाई ढिलाइ गरेको, केही करदाताहरू मुद्दामा गएका कारण बक्यौता नउठेको बताए ।

केही बक्यौता रकममा प्राविधिक कारणले व्यवधान सिर्जना भएको उनले बताए । आन्तरिक राजस्व कार्यालय इटहरीमा कुल १५ करोड ९४ लाख ७५ हजार २७ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ ।

कार्यालयमा मूल्य अभिवृद्धि कर र आयकरको बक्यौता भुक्तानी गर्न बाँकी रहेको आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।

उनका अनुसार आयकर र मूल्य अभिवृद्धि कर दुवै गरी कुल ६ सय ८४ जना करदाताले बक्यौता रकम भुक्तानी गरेका छैनन् । उनले गत आर्थिक वर्षभन्दा अगाडिको मात्रै बक्यौता रहेको बताए ।

राईले बक्यौता असुलीका लागि कार्यालयले करदाताहरूलाई पत्राचार गरेको बताए । उनले भने, ‘करदाता पहिचान गरी सङ्कलन भ्रमण गरेका छौँ । पत्राचार तथा सङ्कलन भ्रमण गर्दासमेत बक्यौता दाखिला नगर्ने करदातालाई थप कानूनी प्रक्रिया अगाडि बढाएका छौैँ ।’

आन्तरिक राजस्व कार्यालय धरानको कार्यक्षेत्र भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा जिल्ला, धरान उपमहानगर र वराहक्षेत्र नगरको वडा नं. १ देखि ७ नम्बर वडासम्म रहेको छ । इटहरी कार्यालयको कार्यक्षेत्र सुनसरीको धरान उपमहानगरबाहेक अन्य स्थानीय तह र वराहक्षेत्र नगरपालिकाका वडा नं. १ देखि ७ बाहेक अन्य वडाहरू रहेका छन् ।