धरान । राष्ट्रिय जनमुक्ति पार्टीले धरानमा शनिबार किरात, लिम्बुवान, खम्बुवान राज्यअन्तर्गत विशेष स्वायत्त क्षेत्र घोषणा गरेको छ ।
देश संघीयतामा प्रवेश गरिसके पनि विशेष स्वायत्त क्षेत्र घोषणा नगरिएको अवस्थामा जनमुक्तिले ४१ वटा स्वायत्त क्षेत्र घोषणा गरेको हो । जसमा शेर्पा विशेष स्वायत्त क्षेत्र, याम्फू, भोटे, लोहोरुङ, याक्खा, आठपहरिया, थारु, धिमाल, गन्गाई, चाम्लिङ, मेचे, लेप्चा, राजवंशी, उराव, सुनुवार, थामीलगायतका ४१ व्टा स्वायत्त क्षेत्र घोषणा गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् विशेष स्वायत्त घोषणा समितिका संयोजक मोहन धिमालले बताए ।
पार्टीका उपमहासचिव विष्णु थाम्देनका अनुसार पार्टीको कार्यनीतिअनुसार नै विशेष स्वायत्त क्षेत्र घोषणा गरिएको हो । धरानको गीता भवनमा आयोजित घोषणा कार्यक्रममा उक्त विशेष स्वायत्त राज्य क्षेत्रका प्रमुखहरुको जिम्मेवारी पनि तोकिएको छ । याक्खा विशेषमा हरिभक्त याक्खा, धिमालमा हर्कबहादुर धिमाल, सन्थालमा कर्ण हेमरम, राजवंशीमा बैषणु राजवंशी, शेर्पामा निमा शेर्पा, थारुमा जयकुमार चौधरीलाई राज्य प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै चाम्लिङमा राजबहादुर चाम्लिङ, लोहोरुङमा सन्जित लोहोरुङ, खाल्सामा विवेक राई छिन्ताङ्गे, र याम्फूमा जुनेश याम्फूलाई प्रमुखको जिम्मेवारी दिइएको उपमहासचिव थाम्देनले बताए ।