लमही नगरपालिका ३ टिक्लिगढबाट बाघको जस्तो देखिने १ थान छाला सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका १३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका १ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका(२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशा कुमार चौधरी रहेकाे प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएकाे छ ।

कार्यालयका अनुसार धनसरीको कोठामा बाघको छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना उपर थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।