धरान / किरात खम्बुवान साझा पार्टीले जनजागरण अभियान अन्तर्गत पूर्वका पाँच जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुका लागि राजनीतिक प्रशिक्षण दिएको छ ।
पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनले तय गरेको आगामी निति तथा कार्यक्रम अनुरुप पाँचथर, ताप्लेजुङ, इलाम, झापा र मोरङ जिल्लाका पार्टी अध्यक्षहरु तथा जिल्ला पदाधिकारीहरुलाई राजनीतिक प्रशिक्षणसँगै संगठन सुद्धिकरण, विस्तार लगायतका विषयमा अनुशिक्षण दिइएको पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयी राईले बताए ।
पार्टीबाट सञ्चालित किरात खम्बुवान, किरात लिम्बुवान जनजागरण अभियान अन्तरगत भेला, अन्तरकृया संगठन बिस्तार, संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण भईरहेको अध्यक्ष कोयीले जानकारी दिए । सोहि अभियानको निरन्तरता स्वरुप केन्द्रिय सदस्य तथा झापा जिल्ला अध्यक्ष हेमप्रसाद राइको अध्यक्षतमा जिल्ला अध्यक्ष लगायत जिल्ला पदाधिकारीहरुको प्रशिक्षण सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक केन्द्रिय अध्यक्ष भुपि कोयी राईले जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै मुलुकमा विकसित राजनीतिक घटनाक्रम केन्द्रीत प्रशिक्षण दिएका थिए । अध्यक्ष कोयीले जिल्ला अध्यक्षहरुलाई आगामी स्थानीय निर्वाचन लक्षित संगठन निर्माण गर्न निर्देशन दिए । उनले पार्टीको बटमलाईन प्रदेश १ को नाम किरात प्रदेश नामकरण हुनु पर्ने बताए ।
कार्यक्रममा विशेष अतिथि केन्द्रिय उपाध्यक्ष प्रेम चाम्लिङले स्वागत मन्तव्य र उपाध्यक्ष ललित बुताङले पार्टीको सांगठनिक तथा अनुसासन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज गर्न माग गरिएको छ । एमसीसी खारेज गर्नुको कुनै विकल्प नरहेको अध्यक्ष कोयीले बताए ।