प्रहरीले गत मङ्सिरअघिका ६ महिनासम्ममा सुनसरीमा पेस्तोल र कटुवा पेस्तोलजस्ता साना हतियार र तिनमा प्रयोग हुने गोली बरामद गर्न सकेको थिएन । न त कसैलाई पक्राउ नै गर्न सकेको थियो । तर, जब भारतीय सीमावर्ती प्रान्त र जिल्लामा चुनावी माहौल सकिए, कतै कतै भइरहेका छन् र नेपालमा पनि निर्वाचन आयोगले स्थानीय, प्रदेश र सङ्घको चुनाव गर्ने तयारी गरेसँगै पुस महिना भित्रमात्र प्रहरीले सुनसरीका विभिन्न स्थानबाट साना हतियार र गोली धमाधम बरामद गर्न थालेको छ । हतियार र गोली बरामदसँगै किन्ने र बेच्नेहरू पनि पक्राउ परेका छन् ।
विभिन्न कारणले अस्थिर बनेको बेला खुला सिमानाको फाइदा लिँदै भारतीय होममेड पेस्तोल र कटुवा पेस्तोल, तिनमा प्रयोग हुने विभिन्न साइजका गोली र कटुवा पेस्तोल तथा तिनमा प्रयोग हुने थ्रिनटथ्री गोली बरामद हुनु शुभसङ्केत मानिन्न । तर, प्रहरी भन्छ, ‘पछिल्लो समयमा साना हतियार भित्रिइरहेको सूचना प्रवाह भइरहेकाले त्यसतर्फ बढी फोकस गरेका कारण एक महिनाको अवधिमा सोचेभन्दा बढी साना हतियार र गोली बरामद गरिएको हो ।’ सीमानाकाबाट प्रहरीलाई छल्दै साना हतियार अवैधरूपमा भित्रिनुको अर्थ कुनै पनि बेला लुटपाट, हत्या हिंसा र जघन्य अपराध बढ्नु हो । पुस २८ र २९ गते इनरुवाबाट दुई थान पेस्तोलसहित चारजनालाई पक्राउ गरेसँगै सुनसरी जिल्ला प्रहरी कार्यालयले पुस महिनामा मात्र ६ थान पेस्तोल र एकथान कटुवा पेस्तोल बरामद गरेको छ । साथै प्रहरीले ती पेस्तोलमा लाग्ने ६ थान म्यागजिन, ६ वटा गोली र कटुवा पेस्तोलमा लाग्ने एउटा थ्रिनटथ्री गोली पनि बरामद गरेको छ । हतियारको कारोबार गर्ने र किनेर बोक्नेमध्ये पक्राउ पर्नेहरूको सङ्ख्या एक महिनामै सात पुगेको छ । पेस्तोल र कटुवा पेस्तोलजस्ता साना हतियार लुकाएर बोक्न सहज हुने भएकाले आपराधिक गतिविधिमा लाग्ने, लागूपदार्थको ओसार–पसार गर्ने, व्यापारी व्यवसायीलाई पैसाका लागि हतियार देखाएर डर, त्रास र धम्की दिनेहरूको नै त्यस्ता साना हतियार रोजाइमा परेका छन् ।
सुनसरीमा भारतसँग ६२ किलोमिटर खुला सीमा रहेको छ । प्रहरी नाका–नाकामा मात्र बस्ने भएकाले जुनसुकै बाटोबाट पनि साना हतियार भित्रिन सक्छ । भारतको विहारका विभिन्न बजारमा साना हतियार जताततै बिक्री हुने गरेको छ । तिनै भारतीय हतियार व्यापारीहरूको सहयोगमा सुनसरीमा भिœयाइएका हतियारहरू पछिल्लो समयमा प्रहरीले एकपछि अर्को गर्दै बरामद गरेको छ । हतियार किन्ने वा बोक्ने र बिक्री गर्नेहरूलाई पनि प्रहरीले पक्राउ गरी नेपालको कानूनअनुसार हातहतियार खरखजाना अन्तर्गत कारबाहीको दायरामा ल्याएको छ । भारतको विहारबाट किनेर ल्याएको होममेड पेस्तोल बोकेर खुलेआम हिँडिरहेकामध्ये चार जनालाई दुई थान पेस्तोलसहित प्रहरीले गत बुधबार र बिहीबार इनरुवाबाट पक्राउ गरेको थियो भने पुस १४ गते सुनसरीको दुहबी नगरपालिका–३ बाट १ थान कटुवा पेस्तोलसहित इटहरी उपमहानगरपालिका–१२ खनारका ३४ वर्षीय ‘काउ’ भनिने सुशील साहलाई पक्राउ गरेको थियो । यसअघि पुस १२ गते सुनसरीको कोसी गाउँपालिका–१ स्थित बिएस होटलबाट भारतको बिहार अररिया जिल्लाको बासमटिया बस्ने ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई २ थान पेस्तोलसहित पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले भने, ‘हामीले बरामद गरेका ती साना हतियार र गोलीहरू किनबेचका लागि भिœयाइएको जस्तो लागेको छ । हतियार खरिद बिक्री गर्ने गिरोह सुनसरी र भारतीय सीमावर्ती बजारका गिरोह सक्रिय रहेको सूचना पाएका छौं । तिनै सूचनाको आधारमा व्यापक खानतलासी गर्दा एक महिनामा सात पेस्तोल र सातजना पक्राउ गर्न सफल भएका छौं ।’ उनका अनुसार सुनसरीको इनरुवामा पेस्तोल र गोलीसहित केही व्यक्तिहरू खुलेआम घुमिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेका साधा पोसाकको टोलीले हरिनगर गाउँपालिका–७ घुस्कीका २० वर्षीय सबिर मियाँ, ३१ वर्षीय सवरेज मियाँ, २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद अन्सारीलाई पक्राउ गरेको छ । एसपी थापाले ती चारैजना २ थान पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ परेको बताए । इनरुवा–३ महेन्द्र चोकबाट बुधबार साढे ६ बजे सविर मियाँलाई बिएमएम केएफ लेखिएको १ राउण्ड गोलीसहित कटुवा पेस्तोल १ थान र उनले प्रयोग गरेको ज.२ प १९४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको बताए । आफू पक्राउ परेपछि मियाँले नै दिएको सूचनाको आधारमा सवरेज, सिकन्दर र फरियादलाई थप १ थान पेस्तोल, तीन राउन्ड गोली, दुई थान म्यागजिनसहित उनीहरूले प्रयोग गरेको को.१८ प ६२२५ र को.६ प १०९ नम्बरको गरी दुई थान मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।

त्यसो त प्रहरीले दुई साताअघि अर्थात् पुस १४ गते इटहरी–१२ खनारका ३४ वर्षीय ‘काउ’ भनिने सुशील साहलाई दुहबी नगरपालिका–३ बाट १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । साह पहिले नै हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीमा परेका व्यक्ति हुन् । साह पक्राउ पर्नुभन्दा दुई दिन अघिमात्र पुस १२ गते सुनसरीको कोसी गाउँपालिका–१ स्थित बिएस होटलमा बसेर पेस्तोल खरिद गर्ने ग्राहक पर्खेर बसेका दुई भारतीय नागरिकलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरू सुनसरीमा साना हतियार बिक्रीका लागि भारतको बिहार अररिया जिल्लास्थित बासमटियाबाट आएका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारी थिए । सुनसरीका एसपी सिंहले भने, ‘राम र अन्सारीलाई होटलमा शङ्कास्पद अवस्थामा बसेको पाइएपछि उनीहरू बसेको होटलको कोठा खानतलासी गर्दा बेडको डसनामुनि लुकाएर राखेको अवस्थामा दुई थान पेस्तोल, चारथान म्यागजिन, ७.७५ एमएमको तीन राउण्ड गोली बरामद गरिएको थियो ।’
पुस महिनामै अधिक सङ्ख्यामा पेस्तोल र गोली बरामद हुनु र खरिद गर्ने तथा बिक्री गर्ने व्यक्ति पक्राउ पर्नुलाई आपराधिक समूहमा नपुगोस् भनेर साना हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको नतिजा मान्छन् प्रदेश १ का अपराध अनुसन्धान प्रमुख तथा धरानस्थित सङ्घीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) भीम दाहाल । उनको भनाइ छ, ‘कुन उद्देश्य र प्रयोजनका लागि भारतबाट पेस्तोल र गोली ल्याएका हुन्, त्यसको अनुसन्धान जारी छ तर, मान्छे पक्राउ पर्नु र हतियार बरामद हुनु प्रहरीको सक्रियता बढेको नतिजा नै हो ।’ उनले बेलैमा पक्राउ गर्नु र हतियार बरामद प्रहरीले गरेर भविष्यमा हुने अपराधिक गतिविधि रोक्ने प्रयास सफल भएको दाबी गरे ।