धरान । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ प्रतियोगिता’ यस वर्ष धरानमा गर्ने भएको छ । धरानमा गर्न लागेको गल्फ पाँचौं संस्करण हो । यसअघि काठमाडौंको गोकर्णमा दुईपटक, सगरमाथा क्षेत्रमा एकपटक र पोखरामा एकपटक गल्फ आयोजना गरेको थियो ।
फागुनको १३ र १४ गते गरिन लागिएको प्रतियोगितामा कर्पोरेट हाउसबाट एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गर्दै छन् । ब्राहखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले दुई दिवसीय प्रतियोगितामा करिब १ सय ४० एमेच्योर गल्फर सहभागी हुने बताए । यसअघि एक दिवसीय प्रतियोगितामात्रै गरिँदै आएको थियो । १८ होल पार ७० को धरान गल्फ क्लबको कोर्षमा स्टेबल फोर्डका आधारमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा विजेता, क्लोजेस्ट टु दी पिन, लङ्गेस्ट ड्राइभलाई पुरस्कृत गरिने नेपाल गल्फ एसोसिएसनका महासचिव तथा बाह्रखरी गल्फका प्राविधिक सहयोगी दीपक आचार्यले बताए । आइतबारको पत्रकार सम्मेलनमा उनले भने, ‘स्टेबल फोर्डका आधारमा कर्पोरेट हाउसका एमेच्योर गल्फरबीच प्रतिस्पर्धा हुँदै छ ।’
विशेषगरी एमेच्योर पुरुष एमेच्योरको हकमा २४ हेन्डिक्याप र महिलाको हकमा ३६ हेन्डिक्याप प्रतिस्पर्धी रहने उनले बताए । गल्फका विभिन्न विधामा पुरस्कार दिन लागिएको छ । ६० वर्षमाथिका विजयी खेलाडी पनि पुरस्कृत हुने व्यवस्था रहेको छ । उक्त विजेताले गोल्डेन बल प्राप्त गर्ने जनाइएको छ ।
‘सायदै अन्य खेलमा यस्तो गोल्डेन बल पाउने व्यवस्था छैन होला, गल्फमात्रै यस्तो एउटा खेल हो’–खेलाडीसमेत रहेका आचार्यले भने । धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले हाम्रो ठाउँमा आएर बाह्रखरी मिडियाले कार्यक्रम गरिदिन लागेकामा धन्यवाद दिँदै आफूहरूले कार्यक्रमलाई भरपूर सहयोग गर्ने बताए ।
प्रतियोगिता पूर्व बाह्रखरी मिडियालाई प्रदेश १ को समृद्धिका लागि दुईवटा आर्थिक सम्मेलन तथा पाँच स्थानमा ‘गोलमेच सम्मेलन’ कार्यक्रम गर्न लागेको हो । आर्थिक सम्मेलन धरान र विराटनगरमा गर्न लागिएको जनाइएको छ । त्यस्तै गोलमेच सम्मेलन भने झापाको बिर्तामोड, इलाम, उदयपुरको गाईघाट, धनकुटा र सोलुखुम्बुको लुक्लामा गरिन लागिएको कार्यक्रम सञ्चालक तथा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले बताए ।
यो सम्मेलनले प्रदेश १ को आर्थिक विकास, समृद्धिमा जोड दिनेछ । उक्त कार्यक्रममा पूर्वअर्थ सचिव रामेश्वर खनालले कार्यपत्र पेश गर्ने कार्यक्रम छ । खनालले पत्रकार सम्मेलनमा आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रणमा रहन नहुने बताए । उनले बाह्रखरी मिडियाले गरेका कार्यक्रमबाट निकालिएको निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बताए । उनले अब देशको समृद्धि राजनीतिबाट सम्भव नहुने तर्क पनि गरे । ‘अब देश राजनीतिबाट समृद्ध हुन सक्दैन, निजीक्षेत्रबाटै सम्भव हुन्छ, निजीमा पनि उत्पादनलाई बढावा दिने खालको हुनुपर्छ’–उनले भने ।
यस्तै कार्यक्रममा मोरङ उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्न पाउनु आफूहरूका लागि ठूलो सफलता रहेको बताए । उनले बाह्रखरीले गल्फ आयोजना गर्दै अन्य कार्यक्रम गर्न पाउने अवसर सिर्जना गरिनु सङ्गठनकै लागि अहम् कुरा रहेको बताए । ‘यसले हाम्रो क्षेत्रलाई नै सहयोग पुर्याउँछ’–उनले भने । युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले प्रदेश १ उद्यमीको केन्द्र रहेको बताउँदै यस कार्यक्रम समृद्धिका लागि इन्जिनको रूपमा रहने बताए । प्रदेश १ धेरै वर्ष पहिलेदेखि नै उद्यमीका लागि उर्वर ठाउँ रहेको बताए ।