विराटनगर । विराटनगरस्थित कोसी अस्पतालभित्र नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवन निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । सहकारी विकास भवन निर्माण विभागबाट ‘भेरिफिकेसन अर्डर’ आउन ढिलो हुँदा अस्पतालको भवन निर्माणको काम केही समय रोकिएको थियो । विभागबाट एक साताअगाडि भेरिफिकेसन अर्डर आएपछि निर्माण कार्यले गति पाएको हो ।

भेरिफिकेसन अर्डर आएपछि सम्झौता अवधिमा काम सक्ने गरी निर्माणको काम अगाडि बढाएको निर्माण कम्पनीका साइट इन्जिनियर दिलिप मण्डलले जानकारी दिए । ‘सिफ्ट बनाएर अहिले अस्पताल भवन निर्माणको कामलाई अगाडि बढाएका छौं’ इन्जिनियर मण्डलले भने, ‘राति र दिउँसो दुवै समयमा निर्माणको काम हुने गरेको छ ।’

अहिले भवनको अन्डरग्राउण्डको बेस बसाएर ढलानको काम भइरहेको उनले बताए । ‘साइट क्लियर भएपछि निर्माणको कामले पनि गति लिएको छ’ उनले भने, ‘यही गतिमा काम अगाडि बढे सम्झौता अवधिमै निर्माण पूरा गरी अस्पतालको भवन हस्तान्तरण गर्ने तयारीमा छौं ।’

निर्माण कम्पनी रमन भूमिका सञ्चालक कृष्ण बोहोराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मितिभन्दा चाँडै निर्माण गरी हस्तान्तरण गरिने बताए । ‘अस्पताल भनेको जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । गुणस्तरलाई ध्यान दिएर सम्झौताभन्दा अगाडि निर्माण प्रक्रिया पूरा गरी हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो’ उनले भने, ‘त्यसको लागि सबैको साथ सहयोगको आवश्यक पर्दछ ।’

सहरी विकास तथा भवन निर्माण विभागको ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ बजेटमा अन्डरग्राउण्डसहितको पाँच तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भूइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए ।

दोस्रो तलामा एचडियूसहितको डाइलोसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको वार्ड हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला ५० शय्याको हुनेछ ।

सो भवन निर्माण रमन भूमिले ठेक्का पाएपछि निर्माणको काम हुँदै आएको छ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जाने बताइएको छ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौं तलामा ५२ शय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ ।

हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोसीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शय्या पुर्याउने कोसी अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

रमन भूमि बिआइपिएल निर्माण कम्पनी जेभी र सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरबीच गत असारमा सम्झौता भएको थियो ।

सम्झौता भएको तीन महिनापछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालको भवन शिलान्यास गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । भवन निर्माण सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सम्पन्न गर्ने मिति २०८० पुस २३ गते रहेको छ ।