पथरी । पथरीशनिश्चरे नगरमा दोस्रो संस्करणको पथरीशनिश्चरे फुटबल प्रिमियर लिग–२०७८ हुने भएको छ । इन्ट्रानेश्नल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरीको प्रमुख प्रायोजनमा आगामी फागुन १९ गतेदेखि फुटबल प्रिमियर लिग हुने भएको हो ।

लिग आयोजकले बिहीबार पथरीको सुम्निमा सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नारा लिएर पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिको आयोजना हुन लागेको हो ।

यस बर्ष पनि प्रतिस्पर्धामा ८ वटा टिमले सहभागिता जनाएका छन् । दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगितामा १० नवोदय, द रियल व्रोदर, सिरिजंगा एफसी, देवीगञ्ज एफसी, शिखर एफसी, वाईजिफटी एफसी, न्यू स्टार एफसी र वाईएफसीलगाएत ८ वटा क्लबले खेल्ने निश्चित भएको हो ।

लिगमा नयाँ क्लबको रुपमा वाईएफसी क्लब प्रवेश गरेका आयोजक समितिका अध्यक्ष संञ्जीव गिरीले बताए । आयोजकले पत्रकार सम्मेलनमा ८ वटै क्लबलाई ग्रुप विभाजन गरेको थियो ।

क्लबका सञ्चालक विरेन साम्बा, विरोज मगर, नवीन ढकाल, उमेश राई, सागर भट्टराई, सरोज लिम्बु, मिलन श्रेष्ठ र आइतराज राईको उपस्थितिमा गोलाबाट ग्रुप ए र बि छुट्याईएको छ । ग्रुप ‘ए’ मा १० नवोदय, वाईजी एफटी, शिखर एफसी, र वाई एफसी परेका छन् ।

त्यसैगरी ग्रुप ‘बी’ मा द रियल व्रदर्श, देविगन्ज एफसी, न्यू स्टार र सिरिजंगा एफसी परेका छन् । क्लबहरुले यस अघि नै खेलाडी छनौट गरिसकेका छन् ।

लिगको प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार, मेडल, ट्रफीर प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ बेष्ट गोल किपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् ।

म्यान अफ द म्याच प्रत्येक खेलमा ४५ हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लवलाई तयारीका लागि नगद ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकका उपाध्यक्ष बिक्की राईले बताए ।