धरान । इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको रड लोड गरिएको लोपेट ट्रक ब्रेकफेल भई सडकबाट करिब ६० मिटर मुनि खस्दा दुई गम्भीर बनेका छन् । थप चारजना घाइते छन् । 

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार अन्दाजी २ बजेतिर धनकुटा पाख्रीवास नगरपालिका–५ गुराँसे सडक खण्डमा खस्दा दुई जना गम्भीर बनेका हुन् । गम्भीर हुनेमा सोही ठाउँका ४० वर्षीया धनमाया तामाङ र १० वर्षीय दिप्सन तामाङ छन् । उनीहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै चालक सिमरा नगरपालिका २ का २२ वर्षीय मोहन श्रेष्ठ, सोही ठाउँका ३९ वर्षीय सरोजकुमार कुर्मी, १८ वर्षीय जितेन्द्र पटेल र धनकुटा पाख्रीवास–५ की २४ वर्षीया कल्पना श्रेष्ठ सामान्य घाइते बनेका छन् ।

दुर्घटनामा परेको सवारी घटनास्थलमै रहेको जनाइएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाख्रीवासबाट ४ किलोमिटर उत्तरपश्चिममा पर्छ ।