सुनसरी । स्थानीय तह निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुनसरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार हुने निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गर्दै सीमामा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचन शान्तिपूर्ण, भयरहित सम्पन्न गर्न र अबाञ्छित गतिविधि नियन्त्रण गर्न मङ्गलबार रातिदेखि मतदान अवधिभर सीमा सील गरिएको सुनसरी प्रशासनले जनाएको छ । सीमा सिल भएको अवधिमा कसैलाई पनि सीमावर्ती क्षेत्र भएर आवत–जावत गर्न पूर्णरूपमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गरेर जिल्लाको ६२ किलोमिटर सीमा क्षेत्र मङ्गलबार राति १२ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्मको लागि सिल गर्ने निर्णय गरिएको हो । चुनावी सुरक्षालाई मध्यनजर गर्दै दुवैतर्फका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउँदैै सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमामा निगरानी बढाउँदै आपराधिक गतिविधिको सूचना आदान–प्रदान गर्ने र शान्ति सुरक्षामा खलल पार्ने गतिविधि नियन्त्रणमा कडाइ गरेको सीमामा खटिएका एक सशस्त्र प्रहरीले बताए ।

निर्वाचनको क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । निर्वाचनलाई भयरहित बनाउँदै सीमा सुरक्षा, मतपेटिकाको सुरक्षा, मतदानस्थलमा खटिने निर्वाचनसँग सम्बद्ध कर्मचारीहरूको सुरक्षाका लागि सुनसरीमा ५ सय ६१ जना सशस्त्र प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरेर विभिन्न २७ वटा स्थानमा चेक पोइन्ट स्थापना गर्दै सीमाको सुरक्षा व्यवस्थामा कडाइ गरेको एसपी हुमागाईंको भनाइ छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा नेपाल प्रहरी १ हजार १ सय ६६ जना, सशस्त्र प्रहरी ५ सय ६१ जना, राष्ट्रिय अनुसन्धानका कर्मचारी १९ जना, नेपाली सेना ३ सय ३० जना र म्यादी प्रहरी दुई हजार ६८ जना गरी पाँच हजार ४४ जना खटाइएका छन् ।

निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको सुनसरी प्रशासनले जनाएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने जिम्मेवारी भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न प्रजिअ यादवको आग्रह छ । निर्वाचनमा आउन सक्ने सम्भावित चुनौती चिर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा आवश्यक सबै तयारी पूरा गरिएको उनले बताए ।

शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी नेपाल प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् । सुनसरीमा ५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेकोमा ४४ वटा अति संवेदनशील, ८० संवेदनशील र ४२ वटा सामान्य रहेको सुनसरी प्रशासनले जनाएको छ ।

१२ वटा स्थानीय तह रहेको सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस पटकको निर्वाचनमा जिल्लामा ५ लाख ३४ हजार ७ सय ३५ मतदाता रहेका छन् । समग्रमा निर्वाचनको समयमा देखिन सक्ने जोखिम, खुला नाका, साना हातहतियार प्रयोग हुनसक्ने र निर्वाचनमा लुकीछिपी अशान्ति मच्चाउन सक्ने तŒवहरूमाथि सीमामा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएको छ ।