बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न रहेको एउटा गिरोहका दुईजना बालकसहित आठजनालाई पक्राउ गरेको छ ।

प्रहरीले चोरी भएका १२ वटा मोटरसाइकलसहित सङ्गठित रूपमा मोटरसाइकल चोरी गर्ने गिरोह नियन्त्रणमा लिएको जनाएको छ । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना वृद्धि भएको भन्दै उजुरी पर्ने क्रम बढेपछि प्रहरीले खोजीका लागि ‘अपरेसन’ सुरु गरेको थियो । अपरेसनका क्रममा चोरी गरेर ग्यारेजमा मोटरसाइकल ‘मोडिफाइ’ गर्दै बिक्री गर्ने समूहलाई नै पक्राउ गर्न प्रहरी सफल भएको हो ।

सप्तरी जिल्लाको टिकुली नगरपालिका–५ घर भई झापाको अर्जुनधारा नगरपालिका–८ र १० मा दुईवटा ग्यारेज सञ्चालन गर्ने करण मोहम्मदले मोटरसाइकल चोरी गरेर बिक्री गर्नका लागि एक समूह नै परिचालन गरेको प्रहरीको भनाइ छ । उनले ग्यारेजमा बाहिरबाट ताला लगाएर ग्यारेजभित्र भने चोरिएका मोटरसाइकल मोडिफाइ गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा फेला परेको इप्रका अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीले मोहम्मदसँगै बिर्तामोड–५ का करण मण्डल, बिर्तामोड–३ का कुमार राजवंशी, अर्जुनधारा–८ का समिर मियाँ, गौरीगञ्ज–५ का प्रकाश यादव, इलाम चुलाचुलीका राहुल श्रेष्ठ र दुईजना नाबालकलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूले बिक्री गरेको र ग्यारेजमा राखेर बिक्री गर्न लागिएको अवस्थामा १२ वटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्र १–०१–०१४ प ९३१९, प्र १–०१–०१२ प २७५ नम्बर रहेको दुईवटा पल्सर एनएस, मे.६ प ७६३९ नम्बरको पल्सर, नम्बर प्लेट नभएको अर्काे पल्सर, मे.७ प ७६४३, मे.१ प ७९४, मे प ७६३९, मे.९ प ७३४६ नम्बरको चारवटा हिरो कम्पनीको स्प्लेन्डर, मे.६ प ६४५१ नम्बरको एफजेडएस, मे.११ प ५२३७ नम्बरको अपाचे, मे.५ प ७१५० नम्बरको होन्डा युनिकन र मे.४ प ४०६२ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार ग्यारेज सञ्चालन गर्ने मोहम्मदले अरू युवालाई मोटरसाइकल चोरी गर्नका लागि तालिम दिने गरेको खुलासा भएको छ । उनीहरूलाई मोटरसाइकल चोरी गर्न ३० सेकेन्डको समय दिएर चोरी कार्यमा संलग्न गराउने गरेको प्रहरीको भनाइ छ । ‘३० सेकेन्डभित्र मोटरसाइकल आफ्नो नियन्त्रणमा लिन तालिम दिएको रहेछ’ डिएसपी कुँवरले भने, ‘चोरी गरेर आफ्नै ग्यारेजमा मोडिफाइ तथा नम्बर प्लेट परिवर्तन गरेर बिक्री गर्ने गरेको पाइयो ।’

झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले झापामा मोटरसाइकल चोरी गरेर पूर्वी पहाडी क्षेत्रमा बिक्री गर्ने क्रम बढेको बताए । प्रहरीले पहाडी क्षेत्रमा पनि निगरानी गर्न सुरु गरेको जानकारी दिए । केही अघिसम्म मोटरसाइकल दिउँसो चोरी हुने गरेकोमा अहिले भने रातको १२ देखि ४ बजेसम्ममा चोरी बढेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई आफ्नो सवारी साधनको सुरक्षाका बारेमा सचेत हुन उनले आग्रह गरे ।