विराटनगर । विराटनगरस्थित जुटमिलको खेलमैदानमा ‘ग्रासरुट फुटबल ट्रेनिङ’ सुरु भएको छ ।
मिल्स गोल्ड कप फुटबल ट्रष्टको आयोजनामा ग्रासरुट फुटबल ट्रेनिङ सुरु भएको हो । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा ट्रेनिङ सुरु गरिएको संयोजक तथा ट्रष्टका कोषाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।
दुई महिना अघिबाट ग्रासरुट फुटबल ट्रेनिङ सुरु भए पनि ट्रष्टले शनिबार एक कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उद्घाटन गरेको छ । ट्रेनिङको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रूपमा गरे ।
कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख कोइरालाले खेलकुद क्षेत्रको विकासमा विराटनगर महानगरपालिकाले सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा महानगरपालिका लागिपर्ने बताए ।
कार्यक्रममा मिल्स गोल्डकप फुटबल ट्रष्टका सल्लाहकार किशोर सुब्बाले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै यसको विकासमा तीन तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ग्रासरुट फुटबल प्रशिक्षणका संयोजक डङ्गोलले मिल्स एरियाको लामो फटुबल इतिहासलाई पुनरावृत्ति गर्न फुटबल प्रशिक्षण केन्द्र कोशेढुङ्गा सावित हुने बताए ।
प्रशिक्षणमा विराटनगर– १२, १३, १४, १५, १६ र १७ नं. वडाका ५ वर्षदेखि १६ वर्षसम्मका ७५ जना खेलाडीको सहभागिता रहेको उनले बताए । प्रशिक्षण साँझमा १ घण्टा हुने गरेको छ । मुख्य प्रशिक्षक जितेन्द्रकुमार साह रहेका छन् ।