धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीका संघिय अध्यक्ष केपी पालुङ्वा लगायत तिन नेता मंगलवार धनकुाटको भेडेटार नजिकै सवारी दुर्घटनामा परेका छन ।

राष्ट्रिय जनमुक्ति पार्टी संगठनमा आवद्ध कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष पालुङ्वा, उपाध्यक्ष विधुप्रकाश कायस्थ र उप–महासचिव विष्णु थाङ्देन लिम्वु दुर्घटनामा परेका हुन् । को. १ ज २५८१ नम्वरको बोलेरोमा ताप्लेजुङ जाने अन्य यात्रुहरु पनि रहेका थिए । 

मंगलबार बिहान ८ः३० मा भेडेटार नजिक धरानवाट ताप्लेजुङ तर्फ जाँदै गरेको वोलेरो ब्रेक फेल भई साँगुरीगढी गाउँपालिका वडा नं.६ कोलवोटेमा दुर्घटना भएको थियो । भेडेटारवाट तिव्रगतिमा आएको वोलेरो कोलवोटेमा आएपछि अनियन्त्रित् भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको थियो । वोलेरो भित्तामा ठोकिएर सडक मै उत्तानो परेको थियो । 

बोलेरो सडकको भित्तामा नठोकिएको भए सबै यात्रु भिरमुनी पुगिने अवस्था रहेको राष्ट्रिय जनमुक्ति पार्टीको उपमहासचिव विष्णु थाङ्देनले बताएका छन् । बोलेरो धरानबाट तमोर करिडोर हुँदै ताप्लेजुङ तर्फ जाने क्रममा भेडेटार नजिकै कोलवोटेको ओरालोमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि संघिय अध्यक्ष पालुङ्वाको मुखमा चोट लागेको छ भने उपाध्यक्ष विधु कायस्थको घाँटीमा र थाङ्देनको हातमा चोट लागेको बताइएको छ । दुर्घटनामा अन्य यात्रुहरु पनि घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।