विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामकरण टुङ्गो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताएका छन् ।

सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको मङ्गलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरूलाई जिम्मा लगाएको दाबी गरे ।

‘तेस्रो नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ? तपाईंहरूलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैनथ्यो । त्यति बेला घोषणा गर्न नसक्ने, अघि बढेर छाती थाप्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? अर्को सांसद्लाई आलोचनाको शिकार बनाउने ? यी कारणले गर्दा नाम राख्न अप्ठ्यारो भएको छ’–उनले भने । मुख्यमन्त्री राईले अहिल्यै सङ्घीयतको मूल्याङ्कन गरेर सङ्घीयता असफल भयो भन्न नमिल्ने बताए ।

एक फरक प्रसङ्गमा राईले सङ्घीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाए । उनले सङ्घीय मन्त्रालयका मन्त्रीहरूले एउटा प्रदेशको भन्दा ५–६ गुणा बढी बजेट राखेको भए पनि जिल्ला जिल्लामा सङ्घीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गरे । उनले सङ्घको नेतृत्वले आफै अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाई आलोचना गरिरहेको आरोप लगाए । उनले पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना सङ्घीय सरकारको भन्दा बढी रहेको भन्दै प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।

मुख्यमन्त्री राईले सङ्घ सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले आफूले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिए । मुख्यमन्त्री राईले सङ्घले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गरे । उनले हरेक रूपमा प्रदेश सरकारको आर्थिक अवस्था निम्छरो रहेको बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले सङ्घीयताले राष्टूलाई बलियो बनाएर लगेको बताए । सङ्घीय व्यवस्थाअनुसार आम जनताको पहुँचमा सरकार पुगेको उनले बताए । कार्यक्रममा प्रदेश सांसद्हरू विमल कार्की, शिवनारायण गनगाईं, सर्वध्वज सावाँलगायतले सङ्घीय सरकार प्रदेश सरकारलाई अधिकार दिनेबारे अनुदार भएको बताए ।